कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन २०७७ जेठमा गर्ने निर्णय गरेको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन आगामी वर्ष जेठमा गर्ने निर्णय गरेको हो ।प्रवक्ता भुवन पाठकले बैठकले जेठमा पार्टी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार बैठकले संगठन निर्माण वर्ष २०७६ को कार्ययोजनासमेत पारित गरेको छ । आगामी मंसिरदेखि पार्टीले आफ्ना नेता–कार्यकर्तालक्षित ‘गाउँ फर्क अभियान’समेत सञ्चालन गर्ने निर्णय भएको छ ।
अभियानक्रममा पार्टी र संयोजित संगठन केन्द्रीय एवं प्रदेश कार्यसमिति सदस्यले कम्तीमा तीन साता आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य बसेर संगठन निर्माण र जनसम्पर्कका कार्य गर्नुपर्ने छ ।
यसैगरी, २४ र २५ साउनमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण र भदौभित्र जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत राप्रपा बैठकले गरेको छ ।
त्यस्तै, माघबाट स्थानीयतहदेखिका परिषद् बैठक आयोजना र महाधिवेशन प्रतिनिधि निर्वाचन प्रारम्भ गरिने राप्रपाको निर्णय छ ।
सक्रिय सदस्य वितरणलाई अभियानका रूपमा सञ्चालन र तीन लाख सदस्य पु¥याउने, मंसिर अन्तिम सातादेखि चतराधाम–त्रिवेणी हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प यात्रा प्रारम्भ गर्नेसमेत राप्रपाले निर्णय गरेको छ ।
यसैगरी, समान विचारधारा भएका दलबीच एकता गर्ने राप्रपा (संयुक्त)को निर्णयलाई समेत बैठकले स्वागत गरेको छ भने अविलम्ब एकता प्रक्रियामा आउन पनि आह्वान गरेको छ ।
पार्टीले सरकारसमक्ष बुझाएको २२बुँदे माग पूरा गराउने सम्बन्धमा सरकारसँग दोस्रो चरणको वार्ता गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया