बागलुङ, साउन ११ । नगरप्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । ‘नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो’–उनले भने–‘पार्टीले रोकेपछि उहाँ जापान नजाने हुनुभएको छ ।’
नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ । ‘पार्टीले जापान भ्रमण नजानु भन्यो, मैले त्यसलाई सहस्र स्वीकार गरें’–वडाध्यक्ष शर्माले भने । ‘द वर्ल्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा ६ सदस्यीय भ्रमण टोली सोमबार जापान प्रस्थान गर्दैछ । ‘सात सदस्यीय टोली भ्रमणमा जाने निश्चित भएको थियो’–नगरप्रमुख ईन्द्रराज पौडेलले भने–‘एकजना वडाध्यक्षले पार्टीले अनुमति नदिएका कारण जान नसक्ने जानकारी गराउनुभएको छ ।’
भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नम्बर–२ का सदस्य प्रेमप्रसाद सापकोटा, वडा नम्बर–६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार पनि जाँदैछन् । भ्रमण टोलीमा पूर्वसासंद प्रकाश शर्मा पौडेल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा र अर्का एक स्थानीय पनि जाँदैछन् । उनीहरु भने व्यक्तिगत खर्चमा जान लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।चालू आवका लागि भ्रमण शीर्षकमा छुट्याइएको रु १० लाख बजेटमा नगरपालिकाको टोली जापान जान लागेको हो ।
‘नगरसभा र कार्यपालिकामा व्यापक छलफल गरेर भ्रमणबारे निर्णय भएको हो’–नगरप्रमुख पौडेलले भने–‘अत्यन्त न्यून खर्चमा जाँदैछौं । भ्रमण उपलब्धिमूलक बन्नेमा ढुक्क छौं ।’ भ्रमणमा बोलाउने संस्थाले जैमिनी नगरपालिकामा विद्यालय भवन निर्माण, एम्बुलेन्सलगायतमा सहयोग गरेको जनाइएको छ । उक्त संस्थाबाट थप सहयोग लिन र जापानको विकासबाट केही सिक्न भ्रमण फलदायी हुने नगरपालिकाको दाबी छ । भ्रमणको कार्यसूचीमा जापानको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लाग प्रस्ताव गर्नेसमेत उल्लेख छ ।
प्रतिक्रिया