काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग गरेको हो ।
यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भनेर भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीसँगको कुराकानीमा ‘निर्मला हत्याकाण्ड नौलो नभएको र यस्ता घटनाहरु भइरहन्छन् र भइरहने’ जस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल तरुण दल गृहमन्त्रीलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन जोडदार माग गर्दछ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ । सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ ।
प्रतिक्रिया