काठमाडौँ । नेकपामा रहने ३२ विभाग मध्ये स्कूल विभाग कसले लिने भन्नेमा चर्को विवाद देखिएको मात्र छैन उपप्रधानमन्ी समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल र पार्टी प्रबक्ताको रुपमा रहेका नारायणकाजी बिचको बिबाद पार्टीमा रडाको मच्चिएको छ ।
अन्य विभागमा भागबन्डा मिले पनि स्कुल विभाग तत्कालिन कुन पार्टीले लिने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समेत टुङ्गाउन सकेका छैनन् । सचिवालयका नेताद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आ–आफ्ना दावी नछोडेपछि स्कूल विभागमा विवाद परेको छ ।
यो विभागमा कुरा मिल्न नसकेपछि नेकपाको मंगलबार बस्ने भनेको सचिवालय बैठक पनि बस्न सकेन । एकताका सबै काम टुङ्गाउने विषयमा सोमबार अध्यक्षद्वय ओली र दाहालबीच लामो छलफल भएको थियो । उक्त भेटमा अध्यक्षद्वयबीचमै स्कूल विभागमा कुरा नमिलेपछि नेकपाको एकता प्रक्रिया फेरि अड्किएको छ ।
अध्यक्ष ओलीले स्कूल विभागको प्रमुखमा नेता पोखरेलको दाबी अनुसार उनलाई बनाउन चाहेका छन् । यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि खुमलटारमा बसेको पूर्व माओवादीको बैठकको निर्णय अनुसार नेता श्रेष्ठलाई स्कूल विभाग प्रमुख बनाउन चाहेको जानकारी दिएका छन् ।
पार्टीमा महत्वपूर्ण मानिने विभागहरु पूर्व एमालेको भागमा गएको छ । पूर्व माओवादीले एउटा स्कूल विभाग दावी गर्दा किन आपत्ति ? यो विभागको लागि सचिवालयमा पनि सिनियर र अहिले संसद सरकारमा पनि नरहनु भएका नेता नारायणकाजीको लागि त्यो विभाग उपयुक्त हुने दाहालको अडान छ ।
तत्कालिन दुवै पार्टीबाट सचिवालयमा रहेका नेता एकले अर्कालाई स्कूल विभागको प्रमुखमा स्वीकार्न नसकेपछि यो विभागमा अन्य नेताले समेत दावी गर्न थालेका छन् । वरिष्ठ नेता झलनाथ खनालपनि अन्तिम समयमा आएर यो विभागको नेतृत्व लिन इच्छुक देखिएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य घनश्याम भूसालले यो विभागको जिम्मा आफूलाई दिन भन्दै शीर्ष नेतालाई भेटेर संकेत दिइसकेका छन् ।
पार्टीमा महत्वपूर्ण मानिने संगठन, आर्थिक र विदेश विभाग तत्कालिन एमालेको भागमा परेको भन्दै पूर्व माओवादीले स्कूल विभागमा दावी गरेको स्थायी कमिटीका एक नेताले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टीमा महत्त्वपूर्ण मानिने विभागहरु पूर्व एमालेको भागमा गएको छ ।
पूर्व माओवादीले एउटा स्कूल विभाग दावी गर्दा किन आपत्ति ? यो विभागको लागि सचिवालयमा पनि सिनियर र अहिले संसद सरकारमा पनि नरहनु भएका नेता नारायणकाजीको लागि त्यो विभाग उपयुक्त हुन्छ भन्नेमा पूर्व माओबादी पक्ष रहेका छन् ।
देशव्यापी रुपमा कार्यकर्ताहरुसँग जोडिदै वैचारिक विषयमा प्रशिक्षण चलाउने जिम्मेवारी यो विभागलाई भएको हुँदा आफ्नो प्रभाव छोड्न पनि नेताहरु यो विभागको नेतृत्व लिन प्रतिस्पर्धानै हुने गर्छ ।
नेकपाको राजनीतिक प्रतिवेदनमा तत्कालका लागि ‘जनताको जनवाद’ नयाँ कार्यनीति तय गरिएको छ । तर, यसमा असन्तुष्टि जनाउँदै नेता पोखरेलले अबको कार्यनीति जनताको जनवाद नभएर तत्कालिन एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ नै हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
नेता पोखरेलको अभिव्यक्ति प्रति तत्कालिन माओवादीका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसअर्थमा पनि वैचारिक बहसको लागि महत्त्वपूर्ण मानिने स्कूल विभागको जिम्मा नेता पोखरेललाई दिन नहुने पक्षमा तत्कालिन माओवादी समूह छ ।
यस्तै, स्रोतका अनुसार नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदन लेखनमा महत्त्वपूर्ण भूमिका खेलेका नेता श्रेष्ठलाई स्कूल विभागको जिम्मेवारी दिन उपयुक्त हुनेपक्षमा सचिवालयका बहुमत सदस्य छन् । बिहीबार बस्ने नेकपाको सचिवालय बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने भएका छन् ।
अन्य महत्त्वपूर्ण विभागमा भागबन्डा मिल्न सकेको नेकपामा स्कूल विभागमा आएर किन विवाद भयो ? र, त्यो विभागले के काम गर्छ त ? नेकपाको नियमावली २०७५ मा यो विभागको काम, कर्तव्य र भूमिका उल्लेख छ । हेरौँ के छ नियमावलीमा स्
पार्टी नियमावली २०७५ मा ३२ विभागकै जिम्मेवारी तोकिएको छ । नियमावलीमा स्कूल विभागका जिम्मेवारीलाई आठ बुँदामा उल्लेख गरिएको छ ।
नियमावलीमा भनिएको छ, ‘पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटी समक्ष प्रस्तुत गर्ने ।’
यस्तै यो विभागले पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने नियमावलीमा उल्लेख छ । त्यहाँ थप बुँदामा भनिएको छ, ‘पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने । पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने ।’
यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ । त्यसबाहेक स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । त्यसबाहेक सम्बन्धित कमिटीले तोकेका अन्य काम पनि गर्ने छ ।
प्रतिक्रिया