सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो ।
राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको थियो ।
अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको दस्ताबेजमा उल्लेख थियो । तर अहिले छापिँदै गरेको दस्ताबेजमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्रहरू भन्ने शब्द राखिएको छ ।
त्यस्तै अर्काे ठाउँमा अमेरिकी शब्द झिकेर वाक्यलाई अमूर्त बनाइएको छ । २० हजार प्रति छाप्ने योजनाअनुसार नेकपाको प्रतिवेदन प्रेसमा छ । भारतको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ । दस्ताबेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ ।
संविधान संशोधनको विषयलाई नेकपाको दस्ताबेजले पहिले स्वीकार गरे पनि अहिले मौन छ । ‘नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्ने’ नेकपाको दस्ताबेजमा पहिले उल्लेख थियो । तर अहिले त्यो वाक्य झिकेर संविधान संशोधनका विषयमा केही उल्लेख छैन ।
मधेस केन्द्रित दलहरूले सरकारलाई संविधान संशोधन गर्न दबाब बढाइरहेका थिए । सरकारमै सहयात्री बनेको समाजवादी पार्टीले समेत संविधान संशोधनको सहमति गरी नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर, यस विषयमा नेकपा चुपचाप बसेको छ ।
दस्ताबेजमा पहिले मधेस केन्द्रित दल राजपा र समाजवादी फोरम (अहिलेको समाजवादी पार्टी) लाई मूलधारमा रहन प्रोत्साहित गर्दै एकता र सहकार्यको नीति लिने उल्लेख थियो । तर अहिले ती दललाई मूलधारमा रहन प्रोत्साहन मात्र गर्ने उल्लेख गरेर एकता र सहकार्यका विषयमा पनि मौन बसेको छ ।
प्रतिक्रिया