देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सभापति देउवा सिरहाका बाढी र डुबान पीडित क्षेत्रमा

देशान्तर

कांग्रेस सभापति शेरबहादुर देउवाले सिरहाका बाढी र डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । पूर्वप्रधानमन्त्री देउवा, सिरहाका पार्टी सभापति रामचन्द्र यादव, सांसद चित्रलेखा यादवसहितको टोलीले जिल्लाको बन्दीपुर, कमलाको बाढीले बढी डुबान गरेको सिरहा नगरपालिका ६ स्थित बसबिट्टा, माडर र औरही गाउँपालिका २ तुल्सीपुर क्षेत्रको अवलोकन गरेको थियो ।

बसबिट्टास्थित बाँध भत्काएर कमला खोलाको बाढी पसेको स्थान र कमला खोलामैं पुगेर कमला नदीको उनले अवलोकन गरे । सिँचाइँका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढीपीडित छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ५ हजार २० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा सिरहामा ५ जनाको मृत्यु भएको थियो । सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर आकाशबाटै अवलोकन गरेर फर्किएपछि गुनासो बढिरहेका बेला प्रदेश २ का बाढीपीडित जिल्लाका गाउँ गाउँमा पुगेका कांग्रेस सभापति देउवाले बाढीपीडित परिवारलाई यहाँका जनताका दुःख दर्द समेटेर संसद्‌मा सरकारसँग कडा माग राख्ने आश्वासन दिए ।