देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना दिवस अाज

देशान्तर

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना भएको आज ३३ वर्ष पूरा भएर ३४ वर्ष लागेको छ । सन् १९८५ डिसेम्बर ८ मा बंगलादेशमा स्थापना भएको सार्कको अहिले गति अवरुद्ध भएको छ ।

पाकिस्तानमा हुनुपर्ने शिखर सम्मलेनमा भाग लिन भारतले अस्वीकार गरेपछि नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । पछिल्लो समयमा भारतले सार्कलाई भन्दा बिमस्टेक फोरमलाई बढावा दिएको छ ।

सार्क बडापत्र दिवसको अवसरमा विभिन्न देशका सरकार प्रमुखहरुले सुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अति महत्वपूर्ण भएको बताएका छन् ।

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अति महत्वपूर्ण भएको बताएका हुन् ।

सन् १९८५ मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा सङ्गठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै ओलीले सदस्य देश र दक्षिण एशियाका जनतामा शुभकामना बधाई तथा ज्ञापन गरेका छन् ।

वडापत्र दिवसका अवसरमा ओलीले दिएको शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दै आएको भए पनि आशातीत लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगका निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको उल्लेख गरेका छन् ।

त्यसैगरी पाकिस्तानका राष्ट्रपति डा. आरिफ आल्भीले विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरिबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गरेका छन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै उक्त सङ्गठनको संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा उल्लेख गरेका छन् ।

यसै अवसरमा भुटानका प्रधानमन्त्री लोते छिरिङले दिएको शुभकामना सन्देशमा सार्कले आर्थिक सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताइएको छ ।

बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अलीले दिएको शुभकामना सन्देशमा क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिएका छन् ।

यसैगरी, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको प्रतिवद्धता व्यक्त गर्दै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी सार्कका महासचिव अमजद हुसेन बी सियालले सबै सदस्य राष्ट्रप्रति शुभकामना व्यक्त गर्दै बडापत्रका लक्ष्य र उद्देश्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।