काठमाडौं । नेकपा एकीकृत समाजवादीका घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिएका छन् । आफ्नो विरोध गर्नेलाई ओलीले शत्रु ठान्ने र चाकरी गर्नेलाई काखी च्याप्ने गरेको आरोप लगाए । ओलीप्रति प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको जिकिर गरे ।
उनले ओलीका नजरमा दुई खालका मान्छे भएको भन्दै एकखालका मान्छे उनका शत्रु र अर्का खालका मान्छे उनका चाकर भएको टिप्पणी गरे । उनले जसले ओलीको चाकरी गर्दैन त्यो शत्रु हुने र चाकरी गर्ने शत्रु नहुने भनाई राखे ।
उनले एमाले आफूहरुले लडेर बनाएको पार्टी भएको पनि बताए । ओलीको प्रयोग असफल भइसकेको भन्दै प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेकोले उनले छाड्नु लोकतन्त्र र उनको लागि पनि राम्रो हुने बताए । उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको भन्दै अब भागबण्डाको आधारमा हुने एकतालाई अस्वीकार गर्ने बताए । यसैबीच भुसालले एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले नेता रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु स्वभाविक भएको बताए । उनले आफ्नो पार्टीमा नआउने भए अर्को कुनै जसले राम्रो गर्नसक्छ भन्ने सम्भावना भएको पार्टीमा लाग्न सुझाव दिए ।
भुसालले सहकारी प्रकरणको छानबिनमा केही गडबडको महसुस आफूलाई भएको बताए । निष्पक्ष न्यायिक छानबिन हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिलानेलाई ईष्र्याका कारण केही दुःख दिइएको हुन सक्ने उनले आशंका व्यक्त गरे । यसैबीच नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमिकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे । श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।
प्रतिक्रिया