देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

देशान्तर

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए ।

उनले एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्ने र अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको बताए ।

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ । सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ । यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैंपेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन् ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ । हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन्। स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन् ।

चाडवाड शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीकृत तथ्यांक नभएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारी बताउँछन । यद्यपि, बजेटमा चाडपर्वका लागि १३ महिनाको तलबका रूपमा यसलाई समेटिएको उनले बताए । सो भत्ता सरकारी कार्यालयका सबै कर्मचारी, शिक्षकले पाउने अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।

अघिल्लो महिना करारको अवधि निरन्तर ६ महिनासम्म पुगेका कर्मचारीलाई समेत चाडपर्व खर्च दिने व्यवस्था गरिएको छ। उनले भनिन्, ‘एक वर्षमा ६ महिनाको करार अवधि पुगेको छ भने पनि चाडपर्व दिने व्यवस्था छ ।’

दसैंतिहार मात्र नभई अन्य चाडको हकमा पनि उक्त भत्ता लिन पाइने पौडेलले जानकारी दिइन । उनका अनुसार हिन्दु धर्मावलम्बी बाहेकका कर्मचारीहरुले पनि आ–आफ्नो मुख्य चाडपर्वका अवसरमा भत्ता लिन पाइने उनको भनाइ छ । ‘यो दसैंलाई मात्र नभई सबै चाडपर्वका लागि दिइने खर्च हो,’ उनले भनिन्, ‘कर्मचारीले वर्षमा १३ महिनाको तलब पाउने हो ।

सामान्यतयाः हिन्दूहरूको चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ। तर ईद, क्रिसमसलगायत चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा उक्त भत्ता लिन पाउने व्यवस्था छ ।’ संघीय संसद्मा आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब सुविधा पुनरवलोकन र अध्ययन गर्न एउटा आयोग गठन गर्ने घोषणा गरेका थिए ।

तलब नबढाए पनि सान्त्वनास्वरूप उनले सरकारी कर्मचारीको मासिक महँगीभत्ता भने बढाएर दुई हजार रुपैयाँ बनाउने जनाएका छन् । निजामती एवम् स्वास्थ्य सेवामा भएका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले पाउँदै आएको पोसाक सुविधाबापत पाउने रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ । अन्नपूणमा खबर छ ।