देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली नागरिकता बोक्नेलाई खोइ कारबाही ?

देशान्तर

काठमाडौं । २०६३ सालपछि तराईका जिल्लाहरूमा थोकमा वितरण गरिएको नागरिकताको असर यतिबेला वास्तविक तराईवासी नेपालीले भोग्नु परिरहेको छ । नक्कली नेपाली नागरिकता बोक्नेहरूले पारिबाट ल्याएको लगानी भित्र्याएर मूल तराईवासी मधेसीहरूलाई अल्पमतमा पारेको रिपोर्टहरू बेलाबखतमा छापाहरूमा प्रकट हुँदै आएका छन् । छानबिन गर्ने हो भने त्यस्ता हजारौं नक्कली नागरिकताधारीहरूको पहिचान गर्न सकिने वास्तविक नेपाली मधेसीहरू बताउँछन् । तर, सरकारले भने पहिचान भएकाहरूलाई पनि कारबाही गर्न आनाकानी गरेपछि नक्कली नागरिकताधारीहरूको मनोबल बढेको छ भने वास्तविक नागरिकको मनोबल गिरेको छ । 

पहिचान भएर कारबाहीमा नपरेका यस्तै एक नवनागरिक हुन् भारतको झारखण्ड राज्यमा पर्ने जमसेदपुरका ४४ वर्षीय नितेश कुमार । अनेक तिकड्म गरेर नेपाली नागरिकता लिन सफल भएपछि हाल उनी वीरगन्ज विन्ध्यवासिनी– २ मा घरजम गरेर बसेका छन् । २०५५ सालमा वीरगन्जस्थित माइक्रो नोभा ल्याबको मेनेजर बनेर भारतबाट नेपाल प्रवेश गरेका उनले हाल आफूलाई औषधि व्यवसायीको रूपमा स्थापित गर्न सफल भएका छन् । 

२०५५ सालमा जागिरे बनेर नेपाल आउँदा उनी विदेशी नागरिक भएको कारणले बैंक खातासमेत खोल्न पाएका थिएनन् । नेपाल एसबीआई बैंकमा खाता खोल्न विदेशी नागरिक भएको कारणले उनले भारतीय दूतावासबाट एम्बेसी कार्ड तथा इन्डियन रासन कार्डको सहारा लिएका थिए । यसको प्रमाण उक्त बैंकमा अझै पनि सुरक्षित नै छ । तर अहिले उनी हाल पर्साबाट झुटा विवरण पेस गरी ३४३०२० नम्बरको नेपाली नागरिकता लिनै सफल भए । 

नितेश कुमारको परिवारमा आमासमेत चारजना सदस्य छन् । उनको भाइ कञ्चनकुमार सिंह उनीसँगै बीरगन्जमा बसेर उनको कारोवार हेर्छन् । अन्य भाइ र आमा भने भारतमै अस्पताल खोली बसोबास गर्दै आएका छन् । स्थानीयहरूका अनुसार उनले नेपालमा औषधिको तस्करी गरी गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जन गरी वीरगन्ज उनपा १५ स्थित सुरज आयल छेउमा पुष्पा निवास नामक घर खरिद गरी यारयान फर्मा मेडिसिन नामक फर्मसमेत चलाइरहेका छन् । यारयान फर्मा उनले आफ्नो छोराको नाममा सञ्चालन गरेको स्थानीयले देशान्तरलाई टेलिफोनमा बताए ।  

नेपाल नागरिकता ऐन २०६३ तथा नियमावली २०६३ ले नागरिकता सम्बन्धी कसुरलाई एक गम्भीर अपराधको रूपमा परिभाषित गरेको छ । व्यक्तिसँग भएको वा अड्डामा रहेको नागरिकता विवरणमा थपघट गर्दा वा प्रतिलिपि लिँदा समेत तोकिएबमोजिम दरखास्त दिई आवश्यक सिफारिस वा सनाखतसमेत गरी गराई सही सत्य विवरण उल्लेख गरी गराई नागरिकता लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर नितेश कुमारले झुटा विवरण पेस गरेको र विभिन्न कागजातबाट उनी भारतीय नागरिक भएको पुष्टि भइसक्दा पनि उनलाई कारबाही नहुनुले सम्बन्धित अधिकारीहरू पनि उनको प्रलोभनमा फसेको हुन सक्ने आशंका स्थानीयहरूले गर्दै आएका छन् ।  

उनले आफ्नो नागरिकतामात्रै होइन छोराको जन्मदर्तासमेत झुटा विवरण भरी गराएका पुष्टि हुन्छ । उनको छोराको जन्मदर्तामा उल्लेखित पिता महलमा भरिएको नितेश कुमार तथा सूचकका बाबु भारतीय नागरिक भनी झुटा विवरण लेखाई छोरा आर्यतको नाम भरिएको भन्ने व्यहोरासमेत जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन २०३३ को दफा ४,५, १, ३ (२), १५ (२) समेतको विपरीत गरिएको प्रष्ट रूपमा बुझ्न सकिन्छ । 

निजले छोराको जन्मदर्ता निजले बाबु भारतीय भनी उल्लेख जन्म दर्ता लिएका छन् भने हाल निज भारतीय नागरिकले झुटा विवरण पेस गरी नेपाली नाप्रप लिएको हुँदा निजको नाप्रप बदर गरिपाउन भनी राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालयलगायतका निकायहरूमा उजुरी परिसकेको छ । तर कारबाही भने अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।   

जानकारहरूका अनुसार उनले नेपाली तथा भारतीय डाक्टरहरूलाई वार्षिक तीन/चार पटकसम्म गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति वैध देखाउने प्रयोजनका लागि विदेश भ्रमण गराउने गर्दछन् र मेडिसिनको प्रेसकिप्सन लिँदै आएका छन् ।

 

]]>