देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा केन्द्रीय समिति बैठकको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसमा लामो समयसम्म पनि पार्टीको केन्द्रीय समितिको बैठक नबसेपछि तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग उठेको छ । गएको मंसिरको पहिलो साता केन्द्रीय समितिको बैठक बसेपछि फेरि अर्को केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीका नेताहरूले आआफ्नो धारणा सार्वजनिक कार्यक्रममा बोल्दै हिँडेको तथा पार्टीको आधिकारिक धारणा तय हुन नसकेपछि तत्काल केन्द्रीय समितिको बैठक माग गरिएको हो । 

पछिल्लो समयमा केन्द्रीय सदस्य मात्र नभई महामन्त्री डा.शशांक कोइरालाले समेत पार्टी केन्द्रीय समितिको माग गरेका छन् । महामन्त्री डा.शशांक कोइरालाले शनिबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् । सभापति देउवाको निवासमा पुगेर महामन्त्री कोइरालाले पार्टीलाई पूर्णता दिने तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् । महामन्त्री कोइरालाले सभापतिसँगको भेटका बारेमा भने– ‘शनिबारमात्रै मैले सभापतिलाई भेटेको हो । मलाई अब छिट्टै यो पार्टीको विषय टुंगो लगाउँछु भन्ने भयो । मलाई ढिलो भइसक्यो अब किन ढिला भनेर पनि सोधें उहाँले अब आफूले सबै विषय टुंगो लाग्ने बताए । त्यतिमात्र होइन यति धेरै राष्ट्रका महत्वका विषय छन्, केन्द्रीय समिति पनि बस्नुपर्‍यो भनेको छु । चुनाव आउन लागेको छ । सबै विभाग गठन गर्नुपर्‍यो यी सबै विषयमा छलफल भएको छ । सभापतिजीले छिट्टै गर्छु भन्नुभएको छ ।’

पछिल्लो समयमा केन्द्रीय नेताहरूले संविधान संशोधन र स्थानीय निर्वाचनका बारेमा समेत आआफ्नो धारणा सार्वजनिक मञ्चमा भन्दै आएकाले पार्टीको आधिकारिक धारणा तय गर्नका लागि तत्काल केन्द्रीय समितिको बैठक आवश्यक रहेको नेताहरूले बताउँदै आएका छन् । कांग्रेसका केही नेता संविधान संशोधनपछि मात्र स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्ने भन्दै आएका छन् भने केही नेता पहिला स्थानीय निर्वाचन घोषणाको माग गर्दै आएका छन् । भिन्नभिन्न नेताका भिन्नभिन्न धारणा आउँदा पार्टीका कार्यकर्ताहरूमा समस्या भएकाले तत्काल पार्टीको आधिकारिक धारणाका लागि केन्द्रीय समितिको बैठक आवश्यक भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । त्यतिमात्र होइन स्थानीय तहको निर्वाचन कि स्थानीय निकायको निर्वाचन भन्नेमा समेत कांग्रेस नेताहरू एकमत छैनन् । 

 

]]>