यो तिम्रो नितान्त व्यक्तिगत कुरो हो, यसमा मलाई केही भन्नु छैन । र यसको भागीदार म कुनै पनि हालमा हुँदिनँ । उसले आफ्नो ऊ पात्रबाट यस किसिमको नैतिकहीन जवाफ पाएर अलिक रिसाउँदै भन्छ, आहा † कति जाति ? जस लिने बेलामा मेरो कुनै भागीदारी छैन, मतलब छैन, भन्छौ । कहाँको न्याय हो यो, जब तिमी हौ भनेर म र मेरो कर्मबाट तिमी कसरी अलग हुन सक्छौ ? तिम्रो अस्तित्व मेरो अस्तित्वबाट कसरी अलग हुन सक्छ ।
हुन सक्छ । किन हुन सक्दैन र ? म भन्ने मात्र शरीरभित्र हुँदैहुँदै सदैव शरीरबाट अलग्ग रहन्छ र शरीरले गरेको कर्मको भागीदार शरीर स्वयं हुन्छ, मन हुँदैन । यो कुरो तिम्रो परिवारका सदस्यझैँ सम्पादित हुन्छ । ल, भन त । तिम्रो पाप र पुण्यमा के तिम्रा छोराछोरी र पत्नी सामेल हुन्छन् ? तिमी कुनै कारणले जेल पर्दा के तिनीहरू पनि तिमी सँगसँगै जेल जान्छन् ? पक्कै जाँदैनन् । तर तिनीहरू तिम्रो घर परिवारमा पहिलाझैँ बसेका हुन्छन् । हो त्यसैगरी, म पनि तिम्रो शरीरभित्र हुन्छु, तर तिम्रो, श्रीसम्पत्ति आदिमाथि अधिकार जमाई रहेको हुन्छु । तर तिम्रो दुष्कर्मको भागीदार हुँदिनँ । त्यसको जवाफ मनले दिन्छ ।
ऊ आफ्नो मलाई जोडदार जवाफ दिन्छ खोज्छ तर बिचैमा उसकी पत्नीको आवाज सुनिन्छ, के गर्दै हुनुहुन्छ हजूर ? ढिलो भएन ? आज ८ बजे नै कतै जानु थियो होइन र । ८ त बज्यो नि ! आफ्नी पत्नीको आवाजबाट ऊ झस्किन्छ । ऐनामा आफूलाई एकपटक नियाल्छ । निधारमा लगभग त्यत्तिकै प्रश्नहरूको रेखा कोरिएको देख्छ । आफ्नै आँखामा निकै प्रश्नको बादल मडारिरहेको अनुभव गर्छ । साँच्चिकै ढिलो नै भइसकेको ठानेर ऊ हत्तारिँदै बाहिर निस्कन्छ । बाहिर भन्नुको अर्थ घरबाट बाहिर होइन, मात्र कोठाबाट बाहिर हो ।
०००
आज उसको साथीको एउटा किताबको अनावरण हुने कार्यक्रम छ । ऊ एक दशकदेखि राजधानीमा बस्ने गर्छ, राजधानी आइसकेपछि आफ्नो गाउँठाउँका साथी तथा आफन्तका निम्ति सूत्रधार पनि बनेको छ । उसका साथी तथा आफन्तहरूले उसलाई बेहिचक हरकाम अह्राएका हुन्छन् । कसैका लागि ऊ कुनै बिहानै कुनै अस्पतालमा डाक्टरको टाइम लिन पुगेको हुन्छऽ कसैको आग्रह मान्नका लागि ऊ कुनै बेला एयरपोर्ट पुगेको हुन्छ । कुनै बेला कसैको निर्देशन पूरा गर्नका लागि आफ्नै पैसा हालेर कुनै किताब किनेर पढाइदिएको हुन्छ । त्यस्तो बेला कहिले ऊ आफूले हालेको पैसा पाएको हुन्छ र कहिले त धन्यवाद र कहिले मीठो हासोबाट चित्त बुझाएको हुन्छ । ऊ कसैका लागि आई.एस.बी.एन लिनका लागि त्रिभुवन विश्वविद्यालयको पुस्तकालय धाएको हुन्छ । ऊसले आजसम्म कसैलाई नाइँ भन्न सक्या छैन, चाहेर पनि । कुनै बेला बेफुर्सदको कुरो मात्र गर्दा उसले एउटै वाक्य सुन्नु परेको हुन्छ, तिमी राजधानीमा बसेको हामीलाई के फाइदा भो यार † जाबो एउटा सानो काम गर्न सक्दैनौ । एक घण्टाको त कुरो हो । यसो ग¥यो अलिक लाममा बस्यो । त्यति मात्र झन्झट गर्न सक्दैनौ ? उसले कसैलाई पनि यो भन्न सकेको छैन कि यो एक जनाका लागि एक घण्टा खान्छ । र फेरि यस्ता एक घण्टा माग्नेको संख्या निकै ठूलो छ ।
आजको कुरो बेग्लै हो । आज त उसले नै आफ्नो साथीलाई बोलाएको छ । उसले नै आफ्नो साथीको किताब प्रकाशित गर्न लगाएको छ । प्रकाशनमा लाग्ने खर्च यद्यपि उसको साथीले नै बेहोरेको हो तर भूमिका लेखाउनेदेखि लिएर प्रकाशनको खोजी गर्ने कार्यसम्म त उसैले नै गरिदिएको हो । प्रुफ रिडिङ झन्झट त्यति भएन । किनभने त्यो किताब उसकै कलमबाट विरचित भएको हो । नाउँ मात्र उसको साथीको अङ्कित रहेछ । यो उसको जीवनको बाह्रौँ कार्य परिणति हो । उसले यस्तो नगरेको भए, आज उसको वास्तविक नाउँमै चार दर्जन प्रकाशित पुस्तकको सूची रहन्थ्यो ।
धेरै ढिलो भो भनेर उसले कसरी थाहा पायो भने उसको साथीको फोन हरेक पाँच मिनेटमा आउन थाल्यो । ऊ हतारहतार आफ्नो मोटरसाइकल निकाल्छ र नेपाल प्रज्ञा प्रतिष्ठानतिर लाग्छ । उसको जिल्लाबासीले उसलाई काठमाडौंमा बसेको मान्दा रहेछन् ।
ऊ पनि घर जाँदा, काठमाडौं बस्छु भन्दो रहेछ, जबकि यथार्थ यो होइन । ऊ काठमाडौं उपत्यकामा बस्छ । काठमाडौंबाट २० किलोमिटर टाढा सूर्यविनायकतिर बस्छ ऊ । अब सूर्यविनायक भनेको भक्तपुरमा पर्दछ, काठमाडौंमा होइन । निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर पुस्तक विमोचनको लोकार्पण कार्यक्रम सुरु हुन्छ । कार्यक्रमको सञ्चालक उही हुन पुग्छ । आफैँले लेखिदिएको कृतिलाई आफ्नो साथीको हो भन्दाभन्दै ऊ जिब्रोले मात्र नभएर मनबाट पनि थाक्न पुग्छ । तर पुस्तक लोकार्पणको विधि र मागअनुसार ऊ त्यसो गर्न बाध्य हुन्छ । आफ्नै पुस्तकको रचायिताका रूपमा साथीलाई परिचित गराउँदा ऊ बाहिरबाट जति खुसी देखिन्छ, भित्रबाट त्यति नै दुःखी रहेको हुन्छ । तर ऊसँग हाँस्नु र बधाई दिनुबाहेक कुनै उपाय हुँदैन । ऊ केही गर्न पनि सक्दैन । आखिर यो परिस्थिति त उसले गर्दा नै आएको हो, चारैतिरबाट बधाइस्वरूप गुञ्जिरहेको तालीको बीचमा ऊ आफू मरिरहेको महसुस गर्दछ । तर पनि उसले आफ्ना ओठमा फिका हाँसो लिएकै हुन्छ ।
पुस्तक लोकार्पणपछि केही मिडियाका प्रतिनिधिले उसको साथीको अन्तर्वार्ता लिन्छन् । उनीहरूले प्रश्न गर्दा उसको पाइला अचानक अगाडि बढ्छ । आखिर वास्तविक लेखक त ऊ नै हो । तर तीमध्ये एक जनाले ‘होइन, सर हजुरसित होइन, उहाँसित हामी कुरा गर्न चाहन्छौँ हजुर अलिक पछाडि जानुप¥यो’ भनेपछि ऊ हठात् पछाडि भइदिन्छ । उसको साथी अगाडि आउँछ । उसको साथीले यो किताब लेख्नमा लागेको मिहिनेत र लगानीबारे बढाइँचढाइँ गरेर भन्दै गर्दा ऊभित्र मुर्मुरिएको हुन्छ । आफ्नो साथीको अन्तिम भनाइ ‘‘राजधानीमा मात्र लेखकहरू बस्दैनन्, मोफसलमा पनि बस्दा रहेछन्’ भन्ने कुरोको जीवित प्रमाण हुँ म । मैले आफ्नो बीस बर्से लेखकीय जीवनमा दश वटा कृति प्रकाशनमा ल्याएको छु । तर मोफसलका लेखकहरूको भाग्य अलिक कमजोर हुन्छ, जस्तो लाग्छ, हामीले जेजति परिश्रम गरे पनि राजधानीवालाको दाँजोमा अगाडि आउन सक्दैनौं, के गरौं, हामीसँग पहुँच छैन । यहाँ पहुँचवालाको बिगबिगी छ ।’ यो कुरा ऊ अलिक व्यथित हुनपुग्छ । यो वाक्य र भनाइबाट मिडियालाई के भो थाहा छैन, तर उसको मुटु छियाछिया हुन पुग्यो ।
केही दिनपछि एक दिन साँझको समयमा ऊ र उसको साथी एउटा रेस्टुरेन्टमा गए । उसको साथीले जानीदाकर मगायो । खानेकुरा पनि मगायो । एउटा विशेष च्याम्बर नै बुक गरिएको थियो, बिहानै । त्यहाँ ती दुई जना बाहेक अरु कोही थिएनन् । खानेपिउने क्रममा उसको साथीले भन्यो, ‘तिमीलाई धेरैधेरै धन्यवाद छ मित्र । तिमीले गर्दा आज मेरो एउटा अर्काे किताब पनि बजारमा आयो । यसले गर्दा मैले प्रोन्नति पाउनेछु ।’
उसले यति मात्र भन्न सक्यो, ‘तिमीलाई हार्दिक बधाई छ मित्र । मैले त पैसाबाहेक केही पाउने होइन । मेरो पारिश्रमिकको बाँकी पैसा देऊ ।’
‘दिन्छु मित्र । चिन्तै गर्नु पर्दैन । यी लेऊ’ भन्दै उसको साथीले एउटा खाम उसको हातमा राखिदियो ।
उसले सोध्यो, ‘कति छ यसमा ?’
‘विश्वास छैन भने खोलेर हेर, पूरा पचास हजार छ । पचास त पहिला नै दिइसक्या छु । एक लाखको त कुरो भएको थियो नि,’ उसको साथीले भन्यो ।
‘मलाई पनि अनुबन्धित रकमभन्दा बढी चाहिँदैन,’ उसले भन्यो । साँच्चिकै खाम खोलेर एक एक गरी खाम खोलेर गन्न थाल्यो ।
उसको साथीले हाँस्दै भन्यो, ‘तिमी त तपक्क व्यापारी नै भइसक्या छौ मित्र ।’
ऊ पनि हाँस्दै भन्यो, ‘के गरुँ । म आफ्नो जीवनयापनका लागि नै यो घोस्ट राइटिङ गर्छु । अब घोडाले घाँससित दोस्ती ग¥यो भने के खान्छ यार ? त्यसैले अलिक व्यापारी भएको हुँ ।’
(अन्तिम अंश पछि)
प्रतिक्रिया