विख्यात् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले महात्मा गान्धीप्रति श्रद्धान्जलि व्यक्त गर्दै भनेका थिए– भविष्यका पुस्ताले शायदै विश्वास गर्लान् कि उनीजस्ता हाड मासुका कुनै व्यक्ति यो धर्तीमा जन्मेका थिए । गान्धीजीको अकल्पनीय त्याग, बलिदान र सादगीपनलाई लक्ष गरेर उनले उक्त टिप्पणी गरेका थिए । नेपालका सन्दर्भमा त्यो कथन, लौहपुरुष गणेशमान सिंह र हरफनमौला पीएल सिंहमाथि ठ्याक्कै लागू हुन्छ । त्यो पनि गुरु शिष्यको एक अर्काप्रतिको अद्भूत त्याग र समर्पणको होडका परिपे्रक्षमा ।
प्रजातन्त्र जस्तो जनताको नैसर्गिक अधिकार दिन इन्कार गर्ने राणा मात्र होइन, २००७ सालमा संघर्ष गरेर उपलब्ध गरेको त्यो अधिकार २०१७ साल पुस १ गते फेरि बलात् खोसेर जनतामाथि तानाशाही लाद्ने राजा महेन्द्रका विरुद्ध समेत लड्दालड्दै सम्पूर्ण जीवन त्यसैमा समर्पण गर्ने गणेशमान सिंहको त्याग र तपस्यालाई पनि उछिन्न उनैमाथि आफ्नो सबैथोक न्योछावर गर्ने पीएल सिंहमध्ये कसको बलिदान ठूलो छ, त्यो छुट्याउन धेरैलाई मुस्किल पर्छ ।
पीएल सिंह, आफ्नो समयका चर्चित विद्यार्थी नेता थिए । फर्पिङको पहिलो अंग्रेजी माध्यमको बोर्डिङ स्कूलबाट म्याट्रिक पास गरेर उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा भर्ना भएका उनी प्रजातन्त्रवादी समूहका तर्फबाट विद्यार्थी यूनियनका सभापति निर्वाचित भएका थिए । उनीमाथि गणेशमान सिंहको आशिर्वाद र सहयोग प्राप्त थियो भने प्रधानमन्त्री बीपी कोइरालाका पनि उनी प्रियपात्र थिए । तर जुन बेला प्रजातन्त्रको अपहरण भयो, त्यस बेला उनी यूनियन सभापतिका नाताले अमेरिका र यूरोपको भ्रमणमा थिए । प्रजातन्त्रको हत्या भएको खवरबाट मर्माहत भएका उनी तुरुन्तै नेपाल फर्किए । काठमाडौंमा प्रजातन्त्रवादीमाथि चरम दमनचक्र चलिरहेको थियो । त्यसमाथि पनि गणेशमान सिंहको परिवार झन ठूलो बिल्लबाठमा परेको थियो । सानासाना बालबच्चाको विजोग थियो । गणेशमानजी सैनिक जेलमा हुनुहुन्थ्यो भने मंगलादेवी सिंह पटना सम्मेलनमा भाग लिन के गएकी थिइन, उतै रक्सोलको नाका सम्हाल्न पुगिन् ।
यथार्थमा कांग्रेसका गिरफ्तारीबाट बचेखुचेका सांसद तथा नेताहरुले सुवर्णशम्शेरको नेतृत्वमा राजालाई अविलम्व प्रतिनिधिसभाको बैठक बोलाएर प्रजातन्त्र पुनस्र्थापना गर्न चेतावनी मात्र दिएका थिएनन्, होइन भने कांग्रेसले त्यसका निम्ति सशस्त्र संघर्ष थाल्ने चुनौतिसमेत दिएर त्यसको व्यापक तयारी पनि थालिसकेका थिए । कांग्रेसको त्यही निर्णय अनुसार रक्सोल कमाण्ड मंगलादेवीजीको जिम्मामा यस कारण पर्न आएको थियो कि सात सालको क्रान्तिमा पनि त्यो नाका गणेशमान सिंहको अण्डरमा थियो । अब उनी कलकत्ता त जान सक्थिन् तर काठमाडौं जान नसक्ने भइसकेकी थिइन् ।
नौ वर्षदेखि डेढ वर्षसम्मका पाँचजना लालाबालालाई घरमा अलपत्र छाडेर देशको सीमा बाहिर बसेर क्रान्तिको मोर्चा सम्हाल्ने कुरा, सुन्दा जति रोमाञ्चकारी लाग्नसक्छ, एउटी आमाका लागि त्यस्तो वियोग उत्तिकै पीडादायी तथा मर्मान्तक घटना बन्नपुग्छ । त्यस प्रकार परिवारका लागि पार्टी त्याग्ने कि पार्टीका निम्ति परिवार त्याग्नेजस्तो कठोर विकल्प रोज्नुपर्दा तत्कालका लागि मंगलादेवीजीले परिवार त्याग्ने क्रान्तिकारी विकल्प रोजेकी थिइन् । वास्तवमा त्यो निर्णय, अध्यात्मिक आस्था र वैज्ञानिक यथार्थ विपरीत थियो, त्यही कारण लामो अवधिसम्म टिक्न सकेन । उनले काठमाडौं फर्केर अस्तव्यस्त परिवार सम्हाल्न वाध्य हुनु परेको थियो । त्यस्तो आपतकालीन सम्वेदनशील समयमा गणेशमान सिंहको परिवारलाई पीएल सिंहले महाभारतका कृष्णले पाण्डवहरुलाई हर तरहका संकटबाट जोगाएर अंततः जसरी विजयी तुल्याएका थिए, प्रेमलाल सिंह, अर्थात् पीएल सिंहले पनि त्यो परिवारलाई सबै प्रकारका संकटबाट बचाएर गणेशमान सिंहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वकालिक नेताका रुपमा स्थापित गर्न सफल भए ।
२०४६ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट प्रजातन्त्रको पुनस्र्थापना गरिछाड्न सफल हुनु त्यसको ज्वलन्त उदाहरण हो । उहाँको त्यो सफलतामा पीएल सिंहको कति योगदान रहेको छ, त्यसको लेखाजोखा गर्नेले गर्दै गर्लान् तर यतिचाहिँ निर्धक्क भन्न सकिन्छ– नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हाँकेर निर्णायक स्थान र स्थितिमा उकाल्न गणेशमान सिंहलाई जुन ऐतिहासिक श्रेय प्राप्त भएको छ, पीएल सिंहको अभावमा त्यो संभव थिएन, निर्धक्क भन्न सकिन्न । किनभने गणेशमान सिंहका अन्ध अनुयायीका रुपमा पीएल सिंहको अंशदान अतुलनीय रहेको थियो, त्यो कसैबाट छिपेको छैन । जसले त्यो परिवारका निम्ति आफ्नो सेवामा व्यवधान उत्पन्न होला भनेर आफनै परिवार जोड्ने काम समेत गरेन, त्यस्तो एकलव्यभावको निष्ठा समर्पण गर्ने व्यक्ति यो धर्तीमा जन्मेका थिए भन्दा माथि गान्धीका प्रसंगमा आन्स्टाइनले भने झैं पत्याउन धेरैलाई अवश्य गाह्रोे पर्नेछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका ती पंक्ति सापट लिएर यो सानो लेख यही टुंग्याउने अनुमति चाहन्छु । –
खोज्छन् सुख भनी सुख त्यो कहाँ छ,
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।
सारांशमा उनको जीवनको आदर्श, त्यही सुखको खोजमा केन्द्रीत थियो । त्यो कसीमा उनी सफल भए कि असफल, त्यसको मूल्यांकन गर्ने काम भविष्यको पुस्तालाई छाडौं ।
प्रतिक्रिया