देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रद्युम्न पौडेलको ‘हिमालमाथि उभिएर’ कविता संग्रह, विकृति, विसंगतिविरुद्ध चोटिलो प्रहार

देशान्तर


भक्तपुर । कवि प्रद्युम्नप्रसाद पौडेलले लेख्नुभएको ‘हिमालमाथि उभिएर’ कविता संग्रह विमोचन गरिएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित संगम पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पौडलेको ‘हिमालमाथि उभिएर’ कविता संग्रहको विमोचन गरेका हुन् । कविता संग्रहलाई अनुशीलन नेपालले प्रकाशन गरेको हो ।

अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्व भएको कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजा, मध्यपुर ठिमी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे लगायत अतिथि रहेका थिए । पुस्तकका सम्पादक जीवनाथ अधिकारी र प्रबन्ध सम्पादक राजभक्त श्रेष्ठ रहेका छन् । हिमालमाथि उभिएर कविता संग्रह अनुशीलन नेपालेको १२ औँ प्रकाशन हो ।


हिमालमाथि उभिएर कविता संग्रह जे देखियो, जे भोगियो त्यसको पृथक पृथक शब्दहरु संगालेर लेखिएको कविता संग्रह हो । सूक्ष्म अध्ययन र भोगाईको कवितात्मक शैलीमा गरिएको टिप्पणी भएको कवि पौडेलले बताए । विभिन्न कालखण्डमा जीवनका उकाली ओरालीमा यात्राका क्रममा उल्झन, पीडा, सुख, दुःख, प्रेम, प्रकृति आदिलाई कविताको रुप दिएका छन् कवि पौडेलले । कुनै उचाईबाट हेर्दा आफ्नो देशको उचाई वा सर्वोच्च स्थानबाट भावनामा बगेर आफ्ना अनुभव शेयर गरेका छन् ।

हिमालमाथिको अर्थ कुनै उच्च स्थानबाट हेर्दा देखिएको दृश्य भन्ने बुझिन्छ । त्यो दृश्य भनेको मैंले देखेको विकृति, विसंगति भ्रष्टाचार, अत्याचार, शोषण, भेदभाव र कुरिति हो । यिनै उपर मैंले शब्दद्वारा प्रहार गरेको छु, कवि पौडेलले भने– मेरो आशय कसैप्रति लक्षित होइन, ताकि त्यस्ता कुराहरु सुधार होउन भन्ने मनसाय हो । लोकतन्त्र पछिका दशकमा लोकतन्त्र दिनुपर्ने सुन्दर पक्षको चर्चा गरेर लेख्नुपर्ने र लेख्ने प्रयास पनि गरेको हो तर विकृति र भ्रष्टाचारले कलम पक्षमा चल्नै सकेनन् । सुन्दर पक्षलाई जोड्न खोजें तर भ्रष्टाचार र बेथितिले सुन्दर पक्ष ओझेलमा परे । त्यो विवेचना गरेको छु कवितात्मक शैलीमा । साथै देशप्रेम र मेरो परिवेशको पनि कवितात्मक शैलीमा विवेचना गरेको छु । प्रेम, सदभाव र आपसी एकताको सन्देश पनि दिन खोजेको छु । गाउँघरको सुन्दरता र अहिले आएर दुःख पीडाले गर्दा गाउँघर सुनसान पुगेको यथार्थको चित्रण गरेको छु । विदेशमा भोगेका अत्याचार र दुःखको पनि कवितात्मक शैलीमा चित्रण गरेको छु । मातापिता बिनाको जीवन, आफन्त, समाज, चाडपर्व, राष्ट्रियता र योग र ध्यानको विविध पक्ष पनि कवितामा समेट्ने प्रयास गरेको छु ।


कवितामा विभिन्न विषयवस्तु समेट्दै रचना गर्ने जमर्को गरे अनुसार विविधता मिश्रित हुन पुगेका छन् । पहिलोखण्डमा मुक्तलय खण्ड छ । सो खण्डमा विभिन्न पक्षलाई मुक्तकण्ठले गाउने गरि गद्यमा लेखिएको छ । विभिन्न विकृतिउपर व्यङ्ग्य, सौन्दर्यताको वर्णन, सदभाव र सम्बन्धमा परिचर्चा, बा र आमा नहुँदाको पीडा, मायाप्रेमका भावनात्मक आदि समेट्ने प्रयास गरिएको छ । दोस्रो खण्डमा लय खण्ड छ । यसमा पनि विविधताउपरको शब्द प्रहारदेखि माया, प्रेम र सदभावनको बिषयमा भावना पोखिएका छन् । विभिन्न खालका गजलहरु पनि यसमा समावेश छन् ।