नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका सभापतिहरूको भेला आजदेखि विराटनगरमा शुरू हुँदै छ। यसअघि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यसचिवमार्फत विज्ञप्ति जारी गरेर भेला राेक्ने प्रयास गरे पनि भेला नरोकिने भएको छ ।
भेलामा काठमाडौं, पोखरा, वीरगञ्ज, ललितपुर र भरतपुरका सभापतिहरूको पनि सहभागी हुने कोइराला पक्षले जनाएको छ । दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन भेला उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्दै कुनै पनि कार्यक्रम नरहेको जनाएको थियो । भेलामा सहभागी हुन ११३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको कोइराला पक्षका विराटनगर सभापति दीपक चापागाईंले बताए ।
कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो ।
त्यसअगाडि शेखर पक्षले भने मंसिर आज र भोलिका लागि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको जनाएको छ ।
मंसिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । कोइराला पक्षले गर्ने भनेको भेलामा भने डा. शेखर कोइराला प्रमुख अतिथि हुने दाबी गरेको छ ।
प्रतिक्रिया