देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगीमा सरकार उदासीन 

देशान्तर

काठमाडौं । सहकारीको बचत अपचलन अर्थात् ठगीमा संलग्नलाई कारबाही गर्न संसदीय विशेष समितिले नामै किटान गरेर सिफारिस गरेको तीन साता पुग्न लाग्दा पनि सरकारले कारबाहीमा पटक्कै चासो देखाएको छैन । सिफारिस कार्यान्वयनका लागि सम्बन्धिन मन्त्रालयमा प्रतिवेदन नै पठाइए पनि कार्यान्वयन थालेजस्तो गरेर सरकार त्यत्तिकै बसेको छ । राजनीतिक दबाब र प्रभावका कारण सरकार नै ठगीमा संलग्नलाई कारबाही गर्न हच्किएको हो कि भन्ने चासो सर्व बढेको छ ।

गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई प्रतिवेदनसहित निर्देशन दिएपछि असोज ६ गते गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई सरकारले पक्राउ गरे पनि उनीबाहेक अरूमाथि कुनै अनुसन्धान र छानबिन नै सुरु भएको छैन । जोशीसँगै उनका तत्कालीन साझेदार एवं गोर्खा मिडियाका तत्कालीन एमडी र हाल रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही गर्न संसदीय समितिले सिफारिस गरेको छ । तर, रवि अहिलेसम्म न पक्राउ परेका छन्, न प्रहरीले उनीमाथि कुनै अनुसन्धान नै अगाडि बढाएको छ । 

जोशी पक्राउ परेकै दिन आफूलाई पनि प्रहरीले पक्राउ गर्न सक्ने भन्दै लामिछानेले पार्टी कार्यालय वनस्थली पुगेर कार्यकर्ताहरूलाई पनि मध्यरातिसम्म त्यही भेला गराएका थिए । करिव पाँच घण्टापछि उनी पार्टी कार्यालयबाट निस्केर घर गएका थिए । 

एउटै आरोप र सिफारिस गरिएका जोशी पक्राउ पर्ने तर, रवि पक्राउ नपर्ने कुराले राजनीतिक रूपमा पक्षपात भएको मात्रै देखिएको छैन, राजनीति गर्नेलाई सरकारले नै ठग्नका लागि सहुलियत पो दिन्छ कि भन्ने चर्चा पनि सुरु भएको छ । 

गोर्खा मिडियामा सहकारीबाट ८५ करोड प्रवाह भएको देखिएकोमा ६५ करोडको खर्चमा रविको पनि हिस्सेदारी फेला परेको छ । आफैं साझेदार र कार्यकारी एमडी हुँदा पनि त्यहाँ कसरी पैसा आयो र खर्च भन्ने आफूलाई जानकारी नै नभएको बताउने रविको गैरजिम्मेवारी कुरा संसदीय समितिको प्रतिवेदनसँगै पर्दाफास भएको थियो । समितिले प्रतिवेदन बुझाएसँगै आफूले क्लिन चिट पाएको भन्दै झुटो प्रचारबाजी गराएका रवि र उनको पार्टीका नेताहरू हिजोआज भने मौन देखिएका छन् । किनभने रविको सेयर रकम, त्यसको ट्रान्सफर तथा सहकारीबाट उनको नाममा गोर्खा मिडियामा पैसा आएको देखिनु अनि बेप्रवाह खर्च रविले नै गरेको पाइएपछि रवि कुनै पनि बेला पक्राउ पर्न सक्ने रास्वपाकै नेताहरूको बुझाइ छ । 

सभापतिले गरेको गल्ती जति ढाकछोप गरे पनि नलुक्ने बुझेपछि विस्तारै रास्वपाका नेताहरू चुप लाग्न थालेका हुन् भने के गर्दा जोगिन्छ भनेर उपाय खोज्न थालेका छन् । 

जोशी पक्राउ पर्दा प्रधानमन्त्री केपी ओली अमेरिकामा थिए । लगत्तै रविलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने तयारी प्रहरीले गरे पनि प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरी पछि हटेको सूत्रको दाबी छ ।