देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय विपत्तिमा कांग्रेसलाई सबैबाट असहयोग


काठमाडौं ।  अति भारी वर्षासँगै बाढी र पहिरोले देशैभर बितण्डा मच्चाउँदा पीडितहरूको राहत उद्धारमा सरकारी संयन्त्रको जुन सक्रियता र तदारुकता देखिनुपर्ने थियो, यसपालि त्यो त देखिएन नै, बरु उल्टै नेपाली कांग्रेसका नेताहरूले सम्हालेको मन्त्रालयबाट हुने काममा गठबन्धनबाट सरकारमा सहभागी अन्य दल विशेषगरी सरकारको नेतृत्वकर्ता नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओली र उनको दलका मन्त्रीहरूले नै असहयोग गरेको खुलेको छ । योसँगै ओली निकट मानिएका सरकारी कर्मचारी तथा विभिन्न निकायका प्रमुखहरूले पनि ओलीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई हाकाहाकी असयोग गरेको प्रस्टै देखियो । ओलीको निगाहमा तीन जना वरिष्ठ सचिवहरूलाई पछि पार्दै मुख्यसचिव बनेका एकनारायण अर्यालले त कार्यवाहक प्रधानमन्त्री सिंहको फोनसमेत नउठाएको सिंहका एक सहयोगीले देशान्तरलाई बताए । 

राष्ट्रिय विपत्तिको बेला प्रहरी प्रमुख आईजीपी बसन्त कुँवर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल बाढी नदेखेझैं गरी विदेश भ्रमणमा रमाए । देशको सबैभन्दा ठूलो सुरक्षा निकाय नेपाली सेनाले समेत यसबीचमा कार्यबाहक प्रधानमन्त्री सिंहसँग एक पटक पनि समन्वय गरेन भन्नेसमेत चर्चा चलेको छ । 

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन असोज ४ गते नै अमेरिका उडेका प्रधानमन्त्री ओली बाढीको बितण्डा मत्थर भएपछि मात्रै असोज १४ गते बल्ल काठमाडौं फर्किए । १० गते नै महासभालाई सम्बोधन गरिसकेका ओलीले चाहेको भए कम्तीमा दुई दिनअघि स्वदेश फर्किन सक्थे तर, उनी देशमा हाइसञ्चो छ भने जस्तै गरेर अमेरिका भ्रमणमै रमाए । ९ वर्षअघि २०७२ सालमा महाभूकम्प जाँदा इन्डोनेसियाको जाकार्तामा रहेका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला भ्रमण छोट्ट्याएर भोलिपल्टै स्वदेश फर्किएका थिए । कोइरालाले राष्ट्रिय विपत्तिमा देश र जनताप्रतिको जिम्मेवारी जसरी निर्वाह गरेका थिए, ओलीले यसपालि त्यसैगरी जिम्मेवारीबोध गर्न सक्थे, तर, गरेनन् । उनी फर्किन त फर्केनन् नै, कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख तथा मुख्यसचिवसँग सम्पर्क र समन्वय पनि गरेनन् । यो उनको हदैसम्मको लापरबाही भएको राजनीतिक विश्लेषकहरू बताउँछन् र आम नागरिकले पनि ओलीको यो हर्कतलाई लिएर आलोचना गरिरहेका छन् । 

कार्यवाहक प्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री ओलीले असहयोग त गरे नै, मुख्यसचिव एकनारायण अर्यालले पनि सके जति असहयोग गरे । सिंहलाई जानकारीसमेत नदिई असोज १० गते नै राजधानी छाडेका उनी एक दिन पोखरा र दुई दिन स्याङ्जामा रमाए । आम नागरिक बाढीमा बगिरहँदा र पहिरोमा पुरिइरहँदा मुख्यसचिव अर्याल भने स्याङ्जामा स्थानीय स्तरबाट आयोजित सम्मान कार्यक्रममा व्यस्त थिए। 

असोज ११ गतेदेखि नै ठाउँठाउँमा भारी वर्षासँगै बाढीले डुबाउन थालिसक्दा समेत उनी कार्यवाहक प्रधानमन्त्रीसँग सम्पर्कमा आउन चाहेनन् । शुक्रबार र शनिबार कार्यबाहक प्रधानमन्त्री सिंहले पटकपटक फोन गरिरहे तर, उनले उठाउनै चाहेनन् । शुक्रबार एक पटक फोन उठाएर सबै ठीकठाक छ भनेका उनले शनिबार पनि दिनभर फोन उठाएनन् । मुख्यसचिवले फोन नउठाएपछि कार्यवाहक प्रधानमन्त्री सिंहले आफैं समन्वयात्मक बैठकका लागि तदारुकता देखाएर र मन्त्री र सचिवहरूलाई सिंहदरबारमा बोलाए । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहले सर्वदलीय बैठक आह्वान गरे । बाढी, पहिरोमा सरकारले उचित रूपमा उद्धार गर्न सकेन भनेर सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा आलोचना गर्ने प्रमु्ख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल उर्फ प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने सर्वदलीय बैठकमै गएनन् । बाहिर चर्का कुरा गर्ने तर, राष्ट्रिय विपत्तिको बेलासमेत सरकारलाई असहयोग गर्ने उनीहरूको चरित्र प्रस्ट देखियो । 

पछिल्लो बाढी, पहिरोका कारण प्रभावितको उद्धारमा गृहमन्त्री रमेश लेखकले पनि सरकारी संयन्त्रबाट सहयोग पाएनन् । असोज ७ मै ग्रिस गएका प्रहरी प्रमुख बसन्त कुँवर सहभागी कार्यक्रम असोज १० मै सकियो तर, उनी पनि स्वदेश फर्केनन् । प्रहरी निमित्तको भरमा परिचालन भयो । गृह मन्त्रालय मातहतकै अर्को निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बाढीले विकराल रूप लिइरहेका बेला शनिबार बिहानै बेलायत गए, उनी अझै फर्केका छैनन् । यस्तो विपत्तिमा नेपाली सेनाले स्वतर्फुत रूपमा काम गर्नुपर्नेमा त्यसो गरेन उल्टै गृह र मातहतका निर्देशन उसले पालना गरेन, रक्षा मन्त्रालयको निर्देशन पर्खेर बस्यो । रक्षामन्त्री एमालेकै मानबहादुर राई छन्, उनले पनि गृहसँग खासै समन्वय गरेनन् । जिल्ला जिल्लाबाट प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूले उद्धारका लागि हेलिकोप्टर चाहियो भनिरहेका बेला सेनाले रक्षामन्त्रीको आदेश फर्केर बस्यो । नियमित र सामान्य अवस्थामा झै सेनाले गृहबाट रक्षामा पुगेर रक्षाले निर्देशन गरेपछि परिचालन हुने नीति बनाएर बस्यो । यति ठूलो विपत्तिमा पनि प्रधानसेनापति अशोक सिग्देलले कार्यवाहक प्रधानमन्त्रीसँग एक पटक पनि समन्वय गरेनन्, सेनाको योभन्दा गैरजिम्मेवारी अरू के हुन सक्छ भनेर जानकारहरूले प्रश्न गरिरहेका छन् । 

दुई दिनको बाढीका कारण २४० जनाले ज्यान गुमाइसकेका छन् । अझै केही बेपत्ता छन्, हजारौं विस्थापित भएका छन् । विस्थापितहरूको पुनस्र्थापनाका लागि अहिलेसम्म सरकारले कुनै कार्यक्रम घोषणा गरिसकेको छैन । दशैं सुरु हुनै लाग्दा आएको यो विपत्तिले घरघरमा शोक ल्याइदिएको छ, चाडबाड नै खल्लो पारिदिएको छ । 

कांग्रेसका मन्त्रीहरूले जुनजुन मन्त्रालय सम्हालिरहेका छन्, ती मन्त्रालयको काममा अन्य मन्त्री र मन्त्रालय, कर्मचारी अनि सुरक्षा निकायबाट असहयोग हुनुले यो गठबन्धन कुन धरातलमा र कुन उद्देश्यले बनेको हो भन्नेमै आशंका पैदा भएको राजनीतिक र प्रशासनिक क्षेत्रका जानकारहरू बताउँछन् । कांग्रेसको बैठकमा त प्रधानमन्त्रीसहित सेना, प्रहरी र प्राधिकरण प्रमुखको कार्यशैली र नियतका बारेमा कुरा उठिसक्यो । मुलुकको सबैभन्दा ठूलो दल अनि सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसलाई भएको यो असहयोग चानचुने होइन भन्ने ठहर कांग्रेसले गरिसकेको छ । यस्तै अविश्वास, असहयोग र लापरबाही कायमै रहेमा यो गठबन्धन पनि लामो समय नजान सक्ने अड्कलबाजीसमेत हुन थालिसकेको छ । देशान्तर साप्ताहिकबाट ।