देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारीवर्षाले ठूलो जनधनको क्षति, काठमाडौं उपत्यका सडक सञ्जालविहीन

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं । हिन्दूहरुको महान पर्व दशैं सुरु हुनुभन्दा डेढ साता अगाडि भएको भारी वर्षाका कारण काठमाडौं उपत्यकालगायत मुलुकका पूर्वी भेगमा ठूलो जनधनको क्षति मात्र भएको छैन । राजधानी काठमाडौं सडक सञ्जालविहीन हुन पुगेको छ भने प्रमुख राजमार्गहरुका पक्की पुलहरु बाढीले बगाएका छन् भने पहिरोका कारण सबै राजमार्गहरु दशैंको मुुखमा अवरुद्ध भएका छन् । अहिलेसम्म झण्डै ५ दर्जनको हाराहारीमा मानवीय क्षति भएको छ भने १ दर्जनभन्दा बढी हराइरहेका सुरक्षा निकायहरुले बताएका छन् । आधुनिक नेपालको इतिहासमै दशैंको सन्मुखमा यति ठूलो विपत्ति मुलुकले वेहोर्नु नपरेको तथ्यांकहरुले पुष्टि गरेका छन् । अझै दशंैको लागि मूल घर जान तम्तयार लगभग २० लाख नेपाली जनताको यात्रा अनिश्चित भएको छ । काठमाडौं उपत्यकासँग सडक सञ्जाल टुटेकोले हवाई यातायातले मात्र यत्रो परिणाम धान्न सक्ने देखिँदैन भने क्षतिग्रस्त राजमार्गहरु २/४ दिनमा सूचारु हुन सक्ने सम्भावना पनि कमै छ । हर्षको पर्व दशैं यसपाली दशाको रुपमा परिणत हुने त होइन ? सबैमा चिन्ता बढेको छ ।
बिहीबारदेखि अविरल परेको अति भारी वर्षाका कारण बाढीपहिरो र डुबानमा परी जनधनको क्षतिस“गै देशैभरको जनजीवन अस्तव्यस्त भएको हो भने ठूलो मात्रामा भौतिक संरचनामा पनि क्षति पुगेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी शनिवार बेलुकि ६ बजेसम्म कूल ६६ जनाले ज्यान गुमाएका छन्, ६० जना घाइते भएका छन् भने ६९ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ ।

शनिवार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन मार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराएका हुन् । बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौँमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् । कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा पनि १ जनाको मृत्यु, २ जना घाइते र ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएको तथा क्षतिको विवरण संकलन भइरहेको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । क्षतिको बिवरण संकलन भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थान डुबानमा परेका छन् भने राजमार्गहरू अवरुद्ध भएका छन् । जसका कारण देशका अन्य आन्तरिक भूभाग र काठमाडांै जोड्ने सडक सञ्जालहरूसमेत टुटेका छन् । कैयौं घरहरू बाढीले बगाउँदा र पहिरोले पुरिँदा नागरिक घरवारविहीन बन्न पुगेका छन् भने वर्षाका कारण ठाउँठाउँमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका छन् । जताततै बाढी पहिरोले बितण्डा मच्चाएपछि उद्धारमा समेत कठिनाइ भएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले विपद्बाट देशभर ठूलो जनधनको क्षति भएको र बाढीपहिरो र डुबानको जोखिममा रहेकाहरूलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका थिए । उनले विपद् व्यवस्थापनका लागि सरकारका अंगले काम गरेको दाबी गरेका छन् । यसैबीच सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको ले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए। मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए । यसैगरी सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । आइतवारदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् । वर्षाका कारण बागमती नदी उर्लिएको छ । शनिबार जलसतहले सतर्कता खतरा तह पार गरेको छ भने नदी किनार क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ । बाढी पस्दा नदी किनारका घर तथा व्यवसायमा क्षति भएको छ भने यूएनपार्कस्थित काठमाडौं र ललितपुर जोड्ने झोलुंगे पुल बगेको छ ।


वर्षापछिको बाढीले उपत्यकाका धेरै जस्तो स्थान जलमग्न भएका छन् । कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको छ । ललितपुरमा वर्षापछिको पहिरोका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । चुनिखेलमा पहिरोले घर बगाउँदा एक महिलाको मृत्यु भएको हो । यसैगरी पहिरोमै परेर चापागाउँको टाखेलमा एक महिला र छम्पीमा अर्की एक महिलाको मृत्यु भएको हो । अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले पनि प्रदेशमा बाढी पहिरोले पुराएको क्षतिको विवरण संकलन भइरहेको र बेपत्ताहरूको खोजीकार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । काभ्रेको पनौती नगरपालिका–११ थुम्की भन्ने स्थानमा पहिरोले ५÷६ वटा घर पुरिँदा केही बेपत्ता भएका छन् । पाँचथरको फिदिम नगरपालिका— ४ मा पनि पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।


धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित एक कच्ची घर पहिरोले पुरिँदा दुई महिला बेपत्ता भएका छन् । यता सिन्धुपाल्चोकको लिसंख पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा घर पहिरोले पुरिँदा दुई महिलाको ज्यान गएको छ । निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन । सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो ।
अविरल वर्षाका कारण देशभर २२ ठाउँका सडक अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्ग, बीपी राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
कोशी प्रदेशस्थित राँके–भेडेटार, मध्यपहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ । बागमती प्रदेशस्थित कान्ति लोकपथ, पासाङ ल्हामु राजमार्ग, बीपी राजमार्ग, भीमफेदी–कुलेखानी सड्क, मध्यपहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी–मार्खु सडक र मदन भण्डारी राजमार्ग पनि बन्द छ । गण्डकी प्रदेशस्थित म्याग्दीको बेनी–दर्बाङ सडक खण्ड र कालीगण्डकी करिडोर अवरुद्ध छ । लुम्बिनी प्रदेशस्थित सिद्धार्थ राजमार्ग, गोरुसिंगे–सन्धिखर्क सडक र रुकुम–घोराही खण्ड अवरुद्ध भएको छ । कर्णाली करिडोर पनि अवरुद्ध भएको छ । अत्यधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट दुई फिट तल भासिएको छ ।


मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् । नारायणी नदीको पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भारी वर्षाका कारण सुनकोशी नदीले खतराको तह पार गरेको छ । सुनकोशी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रूपमा डुबाएको प्रहरीले बताएको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको छ । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुंगेपुल उच्च जोखिममा रहेको परेको छ । धादिङको नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका थिए । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । अविरल परेको अति भारी वर्षाका कारण देशभरका राष्ट्रिय हवाई उडान प्रभावित भएका छन् ।


भोटेकोशी नदीको बहाव उच्च हँुदा नेपाल चीन जोड्ने भोटेकोशी गाउँपालिका–२ मा रहेको लार्चामा रहेको बेलीब्रिज नदीले बगाएको छ । बेलीब्रिज बगाएपछि सीमा क्षेत्रको सडक सञ्जाल टुटेको छ । जसका कारण चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ । यता कुलेखानीको ड्याम खोलेपछि बागमती खोलामा बढेको बाढीको कारण भीमफेदी–८ इपा र ललितपुर जोडने बगुवा पुलको केही भाग बगाएको छ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।