देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड–मिश्र भेटले पैदा गरेको संशय

देशान्तर


काठमाडौं । गत सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच खुमलटारमा भएको भेटवार्ता पछि मिश्रले तस्बिरसँगै सात बँुदामा कुराकानीका विवरणहरू भनेर सार्वजनिक गरेलगत्तै पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्ड राजावादी नै हो भन्ने कडा प्रतिक्रिया जनाए । उनले सामाजिक सञ्जालमा लेखेका थिए ‘प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ, अहिले बिरालोले म्याउँ गरेकै हो । किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’ बाबुरामले अगाडि भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहाबाट होइन, नेपाली शोषित, पीडित जनताको अतुलनीय बलिदानपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् । खोस्न दिनु हुँदैन ।’
मिश्रले प्रचण्ड’सँगको भेटमा उनले राखेको अर्थपूर्ण धारणा भन्दै सामाजिक सञ्जालमा बुँदागत रूपमा लेखेका थिए—
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन् ।

३.द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२–०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ– बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।
कौशीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौं साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा (बाबुआमाले सुख पाउँलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ– बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए ।
म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।
मिश्रले सार्वजनिक गरेको यी सात बुँदापछि प्रचण्ड रक्षात्मक हँुदै सचिवालयमार्फत खण्डन गर्न लगाए । सचिवालयको तर्फबाट स्वकीय सचिव रमेश मल्लले खण्डनमा भने ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो, शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ,’, ‘उहाँ (प्रचण्ड) का विचार भनेर मिश्रजीले समय–सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ ‘पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र गएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी ?’ प्रश्नसहित प्रचण्डको सचिवालयले मिश्रसँग आग्रह पनि ग¥यो, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’
यता मिश्रले प्रचण्डको सचिवालयको उक्त भनाइलाई पनि जस्ताको तस्तै आफ्नो फेसबुकमा पोस्ट गर्दै लेखे ‘ठूला नेताहरूसँग भेट्दा यो कुरा चाहिँ बाहिर नगरौं, हामीबीचमा रहोस्’ भनिएका कुरा कहिल्यै पनि सार्वजनिक गर्दिनँ,’ ‘हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ।’ संघीय लोकतान्त्रिक गणतन्त्रका नायक ‘प्रचण्ड’ नै हुन् । कांग्रेस—एमालेलगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ‘प्रचण्ड पथगामी’ हुन् । ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्ड’को संविधान २०७२’ हो र ‘प्रचण्ड’ नभएको भए नेपालमा कुनै हालतमा संविधानसभामार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रस्ट छु ।’ त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सल्लाह पनि दिने गरेको छु ।

माओवादी सशस्त्र युद्धका प्रचण्डले राजासँग मिलेर राजनीतिक दल सिध्याउने रणनीति अगाडि सारेका थिए । आफूले जनयुद्धकालमा प्रचण्डलाई लगाएको आरोप अहिले आएर प्रमाणित भएको बाबुरामको दाबीलाई मान्ने हो भने अस्थिर राजनीति गर्ने र सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र त्यसलाई निरन्तरतामा क्रमभंग गरेको भन्दै उथलपुथलमा रमाउने सत्ताच्युत भएका र विस्तारै शक्तिहीन बन्दै गएका प्रचण्डले राजावादीसँग गठबन्धन गरे भने आश्चर्य नहुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । प्रचण्डको विगतका चरित्र र स्वभाव हेर्दा सत्ताका लागि जे पनि गर्न सक्ने भएकाले भेटवार्ताले राजनीति समीकरणमा परिवर्तन हुन खोजेको हो कि भन्ने जस्तो भान देखिएको विश्लेषकहरूको टिप्पणी छ । प्रचण्ड र मिश्रबीच भएको भेटवार्ताले अहिले नेपाली राजनीति तरंगित भएको छ ।