काठमाडौं । भदौ २९ देखि असोज १ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘क्यान कमटेक २०१७’ हुने भएको छ । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागेको हो । प्रदर्शनीमा इन्फर्मेसन, कम्युनिकेसन र टेक्नोलोजी सम्बन्धी प्रदर्शनी हुनेछ ।
प्रदर्शनीको माध्यमबाट विश्वमा भएको सञ्चार सम्बन्धी विकासलाई नेपालमा भित्र्याउन सहयोग मिल्ने महासंघले बताए । त्यस्तै सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणमा समेत सहयोग मिल्ने विश्वास गरेको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुुसन, सेल्स तथा मेन्टीनेन्ससम्बन्धी स्टलहरु राखिनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरु प्रदर्शनीमा सहभागि हुने छन् । प्रदर्शनीको टाइटल स्पोन्सर सुबिसु केवल नेट प्रालि रहनेछ ।
प्रदर्शनीमा सानो र ठूलो गरी ८७ वटा स्टलहरु हुने छन् । हालसम्म ८० प्रतिशत स्टल निश्चित भइसकेको आयोजकले जानकारी गराएको छ ।प्रदर्शनीमा सेक्युरिटी सोलुसन्स कम्पनीहरुका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिनेछ ।
त्यस्तै ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई समेत प्रदर्शनीमा जोड दिइएको बताएका छन् । जसअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित ‘हाई स्पीड इन्टरनेट’ प्रमुख आकर्षण बन्ने विश्वास गरिएको आयोजकले बताए ।
प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क ५० र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया