काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएका छन्।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यको शपथपछि देउवाले कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिएका हुन्। उनले पार्टीलाई संगठित, अनुशासित बनाउँदै समय सापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानको रूपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिए । बैठकमा प्रतिष्ठानले यस बीचमा गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्र लगायत विविध विषयमा छलफल भएको थियो ।
प्रतिष्ठानको अर्को बैठक कार्त्तितक २८ गते बुधवार सानेपामा बस्नेछ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन गरेका छन् । महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही मनोनीत भएका हुन् ।
यस्तै नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।
समितिको सदस्यमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् ।
प्रतिक्रिया