काठमाडौं । सरकाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते गराउने निर्णय गरेको हो ।
मन्त्रीपरिषदको बैठकपछि मंसिर १० गते दुबै चुनाव एकै पटक गर्ने गरी निर्वाचन आयोगलाई पत्रलेखि पठाउने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतका अनुसार अहिले दुई चरणमा गर्ने कि एकैचरणमा भन्ने केही उल्लेख नगरी आयोगलाई १० गते निर्वाचन गर्ने पत्र पठाउने निर्णय मन्त्रीपरिषदले गरेको छ ।
यस अघि पटक पटक भएका छलफलमा निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सहमतिमा सरकारले दुबै निर्वाचन एकै चरणमा गर्ने गरि मंसिर १० को मिति राखेर सरकारले निर्वाचन आयोगलाई जानकारी दिन लागेको हो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने मन्त्रीपरिषदको बैठकलाई जानकारी गराएका छन ।
चौथो पटक प्रधानमन्त्री भएपछि देउवा पहिलोचोटि विदेश भ्रमणका रुपमा बुधबार भारतको पाँच दिने राजकीय भ्रमणमा भारत जाँदैछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि अनुमोदन गरेको छ ।
मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले दिएको नदिएको प्रवक्ता बस्नेतले बताए ।
भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल(भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए ।
प्रतिक्रिया