देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चउरमा संस्कृति



आज सरस्वती पूजा रहेछ– १
शनिबार फागुन १, २०७२ को यो सरस्वती पूजा किन महत्वपूर्ण भयो ?
मलाई फेरि एकपटक पुराना सम्झनाहरूमा घचेटिदिएको छु ।
मैले कतै लेखिसकेको छु, सरस्वती र महादेव मलाई मनपर्ने देवता हुन् । मलाई पहिलो कण्ठ भएको स्तोत्र ‘सरस्वती महादृष्टवा वीणा पुस्तक धारिणी हो यो स्तोत्र मलाई यति सानो बेलादेखि कण्ठ थियो कि सिनियरहरू मलाई पकडीपकडी त्यसका श्लोकहरू भन्न लगाउँथे । मेरो पहिलो हिन्दी कविता मैले आफ्नो गाउँ बेतौनामा लेखेको थिएँ ।
तर आफ्नो सर्वप्रथम कविता भने त्रिजुद्ध हाइस्कुल वीरगन्जको छैटांै कक्षामा पढ्दा एक दिन कक्षामा बस्दाबस्दै मैले रचेको थिएँ । त्यसका केही पंक्तिमात्र सम्झन्छुः
सरस्वती तिम्रो शक्ति महान
शुभ वासन छ हातमा वीणा
देऊ हामीलाई ज्ञान ।
सरस्वती तिम्रो शक्तिहान ।
यही मेरो जीवनको पहिलो कविता थियो । सरस्वती पूजा हाम्रा लागि परम उत्सवको महोत्सव थियो । पछि यो झन् महत्वपूर्ण भयो । त्यही दिनमा गीत सुनाउने अवसर पाउँथें स्टेजमा सार्वजनिक रूपमा ।
ठाकुरराम कलेज खुलेपछि संयुक्त रूपमा मनाइन थाल्यो । पहिले केवल स्कुलले मनाउँथ्यो ।
त्यसदिन नाटक देखाइन्थ्यो, गीत, नृत्य–वाद्यहरूको प्रदर्शन हुन्थ्यो । नाटकमा पुरुषहरू नै स्त्रीको भूमिका गर्दथे । एक पटक एउटी केटी खेलेकी थिई । त्यो पनि स्वास्नी बन्नेलाई बहिनी बनाएर नाटकमा उतारिएको थियो । अनेक सावधानी गर्दागर्दै पनि नायक र नायिका प्रेम गर्न थालेछन् । एकदिन ती वास्तविक रूपमै वीरगन्जबाट पलायन गरे । तिनले विवाह गरेर वीरगन्ज बसोबास गर्न थाले । तर तिनको त्यो विवाह लामो समय टिक्न भने सकेन ।
त्यसले गर्दा एक परिवर्तन आयो । वीरगन्जको स्टेजमा केटीले नाटक खेल्ने प्रथा पूर्णतः प्रतिबन्धित भयो । नाटक त हरसाल खोलिन्थ्यो त्यसदिन । तर पुरुष नै स्त्री पात्रको भूमिका गर्न थाल्यो । त्यस्तो खेल्नेमा सबैभन्दा लोकप्रिय भयो कलैयाका लक्ष्मणजीको भूमिका । उनलाई अत्यन्त सुहाउँथ्यो, स्त्री भेष ।
त्यसदिन सांस्कृतिक कार्यक्रम त्रिजुद्ध र अन्यले पनि गर्दथे । बडो रौनक फिँजिन्थ्यो चारैतिर ।
सरस्वतीको प्रतिमा, माइक आदि सब दरभंगाबाट भाडामा ल्यान्थ्यो । रातभरि सजाइन्थ्यो । हाइस्कुलको हलमा सरस्वतीको मूर्ति स्थापित गरिन्थ्यो । भोलिपल्ट बाहिर लहराइहेका ध्वजापत्ताका केराका थामहरूसहित हलभित्र फूलमाला, धूपदीप नैवेद्यले सिंगारिएकी सरस्वतीको बारम्बार दर्शन गर्न हामीलाई मजा आउँथ्यो । हामी त्यसदिन उफ्रँदै, हरिनजस्तै कुलाँच मार्दै हिँड्थ्यौ । संस्कृत शिक्षक सोमनाथ झा, जसलाई पण्डितजी भन्थे । प्रसाद दिन्थे । अन्य समय एक वडा संस्कृत मास्टर मानिए पनि त्यस दिन उनी एकदम दयालु र शुद्ध लाग्दथे । हामी विभिन्न स्कुलका मूर्तिहरू हेर्दै हिँड्थ्यौं । त्यो धुनमा रक्सौल हाइस्कुलसम्म पुगिन्थ्यो । अन्त्यमा निष्कर्ष निकालिन्थ्यो, हाम्रै अर्थात् त्रिजुद्धकै मूर्ति उम्दा छ ।
दिउँसो भोज हुन्थ्यो । महाराजजी बेलुकीदेखि आफ्नो काममा लागेका हुन्थे । भोजमा पनि तात्तातो पुरी जिलेवी छानिरहेका हुन्थे । स्कुलकै छात्रछात्रा, सेव बुनिया, पुरी तरकारी बाँडिरहेका हुन्थे । छात्राहरूसित अरू बेला त्यति बोलचाल हुँदैनथियो । ती त झन् बोल्दैनथिए । कक्षामा पनि ती अलग्ग बेन्चमा बस्थे । तर त्यसदिन गरारा÷ सलवार कर्तामा दुपट्टा जनैजस्तो बनाएर गाँठो पारेका ती अन्नपूर्णा लाग्दथे । म यो त्यसै भनिरहेको छैन । अहिले पनि अन्नपूर्णा देवीभन्दा आफूले फ्रेमभित्र देखेको तस्बिर र साथै सरस्वती पूजामा अरू लेउन अरू लेउ न भनेर छानेको पुरी छ, बुनिया छ, खाउ भन्दै चाहिनेभन्दा बढीबढी पत्तलमा हालिदिएर उदारपूर्वक थप्ने ती केटीहरूको सम्झना आउँछ । त्यसबखत ती लज्जित अबोला केटीहरू बरु वाचाल हुन्थे । हामी त खानमा दत्तचित्त संलग्न हुन्थ्यौं । त्यसदिन ती झन् स्त्रीग्ध, पवित्र लाग्दथे ।
हामी केटाकेटी नै थियौं । ती राम्रा र असल उदार केटीहरूसित मागी मागी खान्थ्यौं । यो क्रम किशोरावस्थासम्म चल्यो । त्यसपछि मात्र केटीहरूलाई हेर्ने दृष्टि केही परिवर्तन हुन थालेको थियो । बेलुकी पनि त्यही भोजन सांस्कृतिक कार्यक्रम सहयात्रीहरूलाई पेटभरी ख्वाएर पठाइन्थ्यो । म त्यो दिन राति अबेर, सुत्न मात्र घर जान्थेँ । भरपेट खाएर ।
दिनभरि दरभंगैबाट ल्याएका फिल्मी रेकर्डहरू बजिरहन्थे । समारोह झन् संगीतमय बन्थ्यो । ती रेकर्ड भोलिपल्ट बिसर्जनको नारा नलागुन्जेल बजिरहन्थे । म मनमनै गीतहरू बारम्बार सुनिरहन्थेँ र सिकिरहन्थे । साँझ स्कुलको प्रांगणमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो, एउटा नाटकसहित ।
एउटा पूर्णांकी नाटक र अको ग्यापमा, गीत–नृत्य वाद्य प्रवचन आदि । ठूलो चउर थियो स्कुलको, त्यो नगरवासी दर्शकले भरिएको हुन्थ्यो । घाँसको जमिनमा बसेर सब हेर्दथे । वीरगन्ज र रक्सौलमा एकौटा सिनेमा हल खुलिसकेका थिए । तर हाम्रो यो शो सबैलाई प्रिय थियो ।
(रत्न पुस्तकमा प्रकाशित संस्मरण ‘गीति’ को प्रथम अंश)