देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादीको महाधिवेशन जमघटमात्रै

देशान्तर


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १०औं महाधिवेशन गरेर मध्यअसारमा प्रतिनिधिहरूलाई काठमाडौंमा उतारे पनि सर्वसम्मत नेतृत्व चयन गरेको भन्दै अपूरो कार्यसमिति चयन गरेको छ ।
नेकपा एसको पुरानै नेतृत्वलाई सर्वसम्मत बनाउँदै केन्द्रीय प्रतिनिधिलाई काठमाडौंमा घुमघाम गरेर पठाइएको छ । नयाँ नेतृत्वका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने तयारी गरे पनि अध्यक्ष मण्डलका संयोजक झलनाथ खनालले सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणा गरेका थिए ।
उनी आफैंले आफूलाई सम्मानित नेता घोषणा गर्दै अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत भएको घोषणा गरे । त्यसपछि अन्य पदाधिकारी पनि सर्वसम्मत हुने भन्दै सबै प्रतिनिधिलाई हलबाट बिदा गरेका थिए । यसमा नेत्री रामकुमारी झाँक्रीले विरोध गरे पनि उनको कुनै सुनुवाइ भएन । झाँक्रीले पदाधिकारी चयन गर्नुपर्ने आवाज उठाएकी थिइन् भने खनाललाई महाधिवेशन प्रतिनिधि बिदा गर्ने अधिकार कसले दिएको भन्दै प्रश्न गरेकी छिन् ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्यीय र पदाधिकारीको संख्या २१ बनाउने विधानमा व्यवस्था गरेको छ । तर, भव्यरूपमा महाधिवेशन गरेको भन्दै प्रचारबाजी गरे पनि अहिलेजम्म ९३ जना केन्द्रीय सदस्यमात्रै चयन गरेको छ । बाँकी केन्द्रीय सदस्य र १८ जना पदाधिकारी केन्द्रीय कमिटी बैठकले गर्ने नेकपा एसका नेताहरूले बताएका छन् ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति हुन सकेको छैन केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठकले २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा समाजवादीले महाधिवेशनबाट अध्यक्ष, महासचिव र सम्मानित नेताका साथै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । बाँकी सदस्यहरू चयनका लागि विधि र मापदण्ड तय गर्न आइतबार केन्द्रीय कमिटीको बैठक पुनः बस्ने खतिवडाले जानकारी दिए ।
बैठकले पार्टी पदाधिकारी चयन नभएकाले पार्टीको कामलाई अघि बढाउन अन्तरिम अवस्थाका लागि पुराना कमिटीका सदस्यहरूलाई नै जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ ।
नेकपा एमालेबाट झन्डै तीन वर्षअघि विभाजित भएको समाजवादीले पहिलो पटक नै दसौं अधिवेशन आयोजना गरेको हो । उद्घाटन सत्रमा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएकोमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने वहिष्कार गरेका थिए ।
प्रेम आलेले छाडे
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् । महाधिवेशनमासमेत उपस्थित नभएका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् ।
महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने बताएका हुन् । ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईँको पार्टीमा रहदिँन भनेको थिएँ । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन ।’ आलेले भनेका छन् । आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको बताउँदै उनले भने ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’
यसअघि केन्द्रीय सदस्य रहेका आले पछिल्लो ९३ जनाको लिस्टमा पनि समेटिएका छैनन् ।