काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन ।
नारायणगढ–मुग्लिन सडकखण्डको बुधबार स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएका हुन ।
देउवाले यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएको भन्दै निर्माण चाँडो सक्नका लागि सरकारले गर्नुपर्ने सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवा बुधवार बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी पुगेका थिए । उनले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका हुन ।
दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गर्दा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि संगै गएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए ।
उनले अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुप¥यो भन्दै निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए ।
प्रतिक्रिया