नेपाली कांग्रेसको नीति अधिवेशनको रूपमा समेत रहेको महासमितिको बैठक भोलि सोमबारदेखि ललितपुरमा सुरु हुँदैछ । महासमितिमा सहभागी हुनका लागि प्रतिनिधिहरू अहिले काठमाडौं आइसकेका छन् । महासमितिमा पेस गर्ने प्रतिवेदनहरू शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकबाट पारित पनि भएका छन् । नेपाली कांग्रेसको महासमितिको बैठकका विषयमा रहेर देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश ।
नेपाली कांग्रेसको महासमिति बैठक कस्तो हुन्छ ?
नेपाली कांग्रेसको विधानमा रहेको व्यवस्थाअनुसार महाधिवेशनपछिको सबैभन्दा ठूलो बैठक महासमिति हो । महसमितिको नियमित बैठकको रूपमा यसलाई बुझ्नुपर्छ । सँगै यसपटक अलि फरक र महत्वपूर्ण रहेको छ । किनभने गएको १४औं अधिवेशनमा हामीले नेतृत्वमात्रै चयन गरेका थियौं । त्यतिबेला नेपाली कांग्रेसको नीतिगत निर्णयहरू कुनै पनि भएका थिएनन् । त्यतिबेला नै यसलाई नीति महासमिति (नीति अधिवेशन) गर्ने भनिएको थियो । ढिलै भए पनि हुन लागेको छ । अहिले नेपाली कांग्रेस जटिल चुनौतीपूर्ण कालखण्डमा उभिएको छ । नीतिगत रूपले यो महासमितिको बैठकले एउटा अत्यन्त महत्वपूर्ण र नयाँ दिशा निर्देश गर्ने वैचारिक आन्दोलनको रूपबाट यसलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । पछिल्लो केन्द्रीय कार्यसमितिमा (शुक्रबार) विभिन्न प्रस्तावका बारेमा छलफल हुँदै मैले पनि ‘लिपापोती’ गर्ने ‘कर्मकाण्डी’को रूपमा भन्दा अहिले जुन राष्ट्रियस्तरमा व्यापक र जनमानसमा निराशा र असन्तुष्टि छ । त्यो निराशा र असन्तुष्टि विस्तारै अजराजकता र विद्रोहतर्फ उन्मुख छ । त्यसलाई सम्बोधन गर्नुपर्ने र त्यसलाई समेटेर अगाडि बढ्नुपर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने काम नेपाली कांग्रेसकै हो । नेपाली कांग्रेसले अहिलेसम्म संकटहरूको समाधानको काम गर्दै आएको पनि हो । अहिले पनि देखिएका चुनौती र अप्ठेराहरू पनि नेपाली कांग्रेसकै नेतृत्वमा समाधान गर्ने गरेर निश्चित दिशाबोध गर्नुपर्छ भनेर दृष्टिकोण बनाउनु पर्छ ।
कांग्रेसको नीति र विधि पनि छैन भनेर जुन आरोप लगाइन्छ, यो आरोप अब हट्छ होइन त ?
नेपाली कांग्रेसको नीति र विधि नभएको त हुँदै होइन । नेपाली कांग्रेस लोकतन्त्रको सम्बाहक शक्तिको रूपमा स्थापित छौं । नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म लोकतन्त्रका आधारभूत सिद्धान्तका लागि संघर्ष गर्यो अनि मान्यता स्थापित गर्यौं त्यसलाई केही पनि होइन भन्ने त होइन । आरोप त लगाउनेले लगाउन पाए । अहिलेको जुन परिवेश छ, युधिष्ठिरलाई यक्ष प्रश्नमा राज्यको मृत्युको कारण के भनेर सोध्दा– अराजकता भनेका थिए । हामी त्यो अराजकतातर्फ उन्मुख छौं । आर्थिक, सामाजिक राजनीतिक रूपबाट सम्बोधन गर्नुपर्ने आवश्यकता छ । अब कांग्रेस कार्यपत्र र लिपापोतीमामात्रै सीमित भएर पुग्दैन । किनभने २०४७ सालपछि २५ वटा सरकार बने । त्यसमा १३ वटा सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । पाँच पटक गिरिजाबाबु पाँच पटक शेरबहादुर देउवा, दुई पटक किशुनजी र एक पटक सुशील कोइराला । यसैगरी ७६औं वर्षमा १०औं संविधानको अभ्यास गर्दैछौं । अझै संविधानप्रति असन्तुष्टिका कुराहरू बाहिर आइरहेका छन् । त्यस कारणले निरन्तर संविधान परिवर्तन गर्ने कुरामा होइन, यही संविधानभित्र बसेर संवैधानिक रूपबाट बाटो खोज्नुपर्ने अवस्था छ । संविधानमा आवश्यक संशोधनहरू अत्यन्त जरुरी भएको छ । जस्तो निर्वाचन पद्धतिकै कुरा । समानुपातिक अस्थिरताको मूल कारक तत्व भएको छ यसलाई व्यवस्थापन गर्ने कुरा । समानुपातिकलाई राष्ट्रियसभामा राख्ने व्यवस्था गरौं वा अलग निर्वाचन क्षेत्र तय गरौं ।
केन्द्रीय कार्यसमितिबाट महासमितिमा पेस गर्ने ३ वटा प्रतिवेदन त पास भए, ती प्रतिवेदनका आधारमा नेपाली कांग्रेसको भविष्य राम्रो छ भन्ने कि विगतकै अवस्था हो ?
देशमा देखिएका समस्याहरू प्रस्तावमा उजागर गरिएको छ । उपसभापति र दुई जना महामन्त्रीका प्रस्तावमा सबै कुराहरू त आएका छन् । महामन्त्रीको सांगठनिक प्रस्ताव छ त्यसलाई तदनुरूप कार्यान्वयन गर्न सक्यो भने कांग्रेसले एउटा ठूलो उपलब्धि हासिल गर्ने यात्रामा अगाडि बढ्न सक्छ । तर, हामी कार्यक्रम तय गर्छौं नीति बनाउँछौं, कार्यान्वयन गर्दैनौं । सबभन्दा ठूलो चुनौती र अप्ठेरो विषय त्यो हो । कार्यक्रम नराम्रो होइन । पहिलो अधिवेशनमा बीपी कोइरालाले पेस गरेको कार्यक्रमको ड्राफ्ट हेर्नुहोस् त त्यो कहाँ नराम्रो थियो र । अहिले जनमानसमा देखिएको तीव्र असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र नेपाली कांग्रेस नै त्यो शक्ति हो जसले सबै कुरालाई सम्बोधन गरेर अघि बढ्छ भन्ने विश्वास जनमानसमा सिर्जना गर्नु पर्यो ।
तीन वटा प्रतिवेदनमा के छ त ?
तीनवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पास भएको छ । उक्त प्रतिवेदनमा साथीहरूले मेहनत गर्नुभएको छ । अहिलेको वस्तुगत परिस्थिति र जनमानसमा भएका कुराहरूलाई उल्लेख गर्न खोजिएको छ । अहिलेको असन्तुष्टिको मूल जड विधिविहीनता, दण्डविहीनता र भ्रष्टाचार हो । सुशासनको प्रतिबद्धताअनुसार हामीले दिन सकेनौं । भ्रष्टाचार नियन्त्रण गर्नका लागि हामीले यो यो काम गर्छौं भन्नुपर्छ । जस्तो अहिले लोकरिझ्याईंवादी साथीहरूले एउटा यस्तो भाष्य तयार गरिराख्या छन्, ‘ती कुनै पनि पार्टीका नेता र मन्त्री भएकाहरू सबैभन्दा भ्रष्ट हुन् उनीहरूले बोराका बोरा पैसा लुकाएर राख्या छन्’ भन्ने गरिएको छ । मैले हिजो पनि भने, यो भाष्यको जवाफमा नेपाली कांग्रेसले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएर नयाँ यात्रा सुरु गर्ने आँट गर्नुपर्छ । अहिलेसम्मका भ्रष्टाचारका प्रत्येक विषयहरूलाई अन्तिम निष्कर्षमा पुर्याउन पनि नेपाली कांग्रेसले नेतृत्व गरोस् । त्यसैले सुशासन विधिविहीनता र दण्डहीनताको अन्त्यबाट नै जनतालाई नयाँ भरोसा सिर्जना गर्न सक्छ भन्ने मेरो प्रस्ताव हो । तीनवटै प्रस्तावमा भ्रष्टाचार र सुशासन कायम गर्ने कुरा उल्लेख गरिएको छ । त्यसलाई अझ प्रस्ट ढंगले अघि बढ्दा जनमानसमा विश्वासको वातावरण बन्छ भन्ने मेरो धारणा हो ।
महासमितिको बैठक पछाडि गठबन्धन के गर्ने ?
सबैभन्दा पहिला त संविधानमै मौलिक सुधारको आवश्यकता छ । हामीले अवलम्बन गरेको निर्वाचन पद्धतिअनुसार समानुपातिक नै राजनीतिक अस्थिरताको कारक बनेको छ । त्यसले गर्दा गठबन्धन नगरेर सरकार नै बन्न सक्दैन । अहिले धेरै कुराहरू छन् । संविधान संशोधनको पाना खोल्नुपर्दा धेरै कुराहरू खोल्नुपर्ने हुन्छ । त्यसका लागि गोलमेच सम्मेलन गर्न पनि नेपाली कांग्रेस तयार हुनुपर्छ ।
अहिले हिन्दु राज्यको कुरा पनि छ, तर प्रतिवेदनमा आएन नि ?
प्रतिवेदनमा यो विषय आएको छैन । २२ जना साथीहरूले त्यसलाई प्रस्तुत गर्नुभएको छ । हिन्दु धर्म पनि जनमानसमा अहिले उठेको विषय हो । त्यसलाई कुन ढंगबाट सम्बोधन गर्ने र बाटो निकाल्ने पक्षमा नेपाली कांग्रेस अघि बढ्नु पर्छ । मलाई व्यक्तिगत रूपले सोध्नुभयो भने, म प्रस्ट रूपले हिन्दु धर्ममा विश्वास गर्छु । तर, धर्म भनेको विश्वास हो । लोकतन्त्रलाई ‘फ्रिडम अफ विलिफ’ विश्वासको स्वतन्त्रता भन्छौं । हरेक व्यक्तिको आफ्नो आफ्नो विश्वास गर्ने स्वतन्त्रता छन् । त्यसलाई संरक्षण गर्नुपर्छ । सर्व धर्म भाव र धार्मिक स्वतन्त्रता नै नेपाली कांग्रेसको आदर्श हो । मैले विभिन्न पक्षमा निस्किएका विभिन्न कुराहरूलाई गोलमेच सम्मेलन गरेर समाधान गर्न आवश्यकता छ र त्यसको नेतृत्व कांग्रेसले गरोस् भन्ने मेरो आग्रह थियो ।
संविधान संशोधनलगायतका कुराहरू लिएर कांग्रेस अघि बढ्दा नेपालको राजनीति कता पुग्छ ?
हामीले जुन उपलब्धिहरू ऐतिहासिकरूपले प्राप्त गरेका छौं, त्यो उपलब्धिलाई समेट्नको निम्ति पनि पहिले अन्तरकुन्तर यताउति देखिएको असन्तोषहरूलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । अमेरिकाको संविधान, भारतको संविधान पनि त पटकपटक संशोधन भएको छ । संविधान संशोधन नै गर्नु हुन्न भन्ने दृष्टिकोणले अरू बिग्रह उत्पन्न गर्छ ।
महासमिति फलदायी बनाउने कि कर्मकाण्डी ?
सोमबारदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको महासमितिको बैठक कर्मकाण्डी नबनोस्, फलदायी, निश्चित वाटो निदृष्ट गर्ने काम आउने दिनहरूमा नेपाली कांग्रेसले गरोस् । नेपाली कांग्रेसले जनतामा टुटेको आशा र भरोसालाई फेरि जगाउने विश्वासको वातावरण सिर्जना गर्ने काम यो महासमितिले गर्नुपर्छ ।
अहिले सरकारमा तपाईंहरू हुनुहुन्छ, अर्थमन्त्री पनि कांग्रेसकै, अहिलेको शिथिल अर्थतन्त्रलाई कांग्रेसले कसरी सम्बोधन गर्ने ?
आर्थिक दृष्टिकोणले अहिलेको मूल जड नै वित्तीय अनुशासनहीनता, आर्थिक अराजकता हो । एसियाकै गरिब देशमा गनिने नेपालले स्विस बैंकमा रकम जम्मा गर्नेमा अगाडि पर्छ । व्यापक रूपबाट भ्रष्टाचारका कुराहरू जो आएका छन्, यसलाई छानबिन गर्ने र एक हजार र पाँच सयका नोटबन्दी गरेर नयाँ र ऐतिहासिक यात्रा तय गर्न सकियो भने राम्रो हुन्छ । नेपालमा कांग्रेसमात्रै यस्तो शक्ति हो, लामो संघर्षबाट आएको र विश्व परिवेशमा पनि आफ्नो साख निर्माण गर्न सफल भएको छ । देशका विभिन्न पक्षहरूलाई सम्बोधन गरेर समयअनुसार लिएर अगाडि जान सक्छ त्यसका लागि विगतको जस्तो डाइनामिक नेतृत्व र सोच अहिलेको आवश्यकता पनि हो ।
समावेशिताको सबालमा अहिलेको जस्तै कांग्रेस कि अलि उदार कांग्रेस बन्छ त ?
कांग्रेस नीतिगतरूपमा जसरी दृढ भएर अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न हामी चुकेका छौं । त्यसैले अब हामी चुक्दैनौं र नयाँ दिशा निर्माण गर्छौं भन्ने सन्देश यो महासमितिको बैठकले दिन सकोस् भन्ने मेरो सोच हो ।
महामन्त्रीले पेस गरेको कार्यतालिकाअनुसार १५औं महाधिवेशन सम्भव होला ?
महामन्त्रीले १५औं महाधिवेशनका लागि पेस गरेको कार्यतालिका ठीक छ । तर, महाधिवेशनको कार्यतालिका कांग्रेसका लागि ठूलो चुनौती र अवसर पनि हो । किनभने हामीले २०८२ सालमा १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता छ । कार्यकाल थप गर्ने जालझेलमा लागियो भने नेपाली कांग्रेसमा अत्यन्त ठूलो बिग्रह उत्पन्न हुन्छ । यसलाई लम्ब्याउँदै जाँदा स्थानीय निकायको चुनाव सुरु हुने, त्यसपछि प्रदेश केन्द्रको निर्वाचनलाई असर पर्ने, त्यो महाधिवेशनका तिक्ततादेखि धेरै कुराहरूले पार्टीभित्र कमजोर परिस्थिति र मनस्थिति निर्माण हुने हुन्छ । त्यसकारण संविधानले तोकेको मितिभित्रै पारदर्शी तरिकाले अधिवेशन हुनुपर्छ । त्यसको तयारीमा हामी सबै लाग्नु पनि पर्छ ।
तपाईंले भनेको गोलमेच सम्मेलन किन र के का लागि ?
संविधानबाटै संवैधानिक परिवर्तन गरेर हामीले प्राप्त गरेका उपलब्धिहरूलाई संरक्षण गर्नुपर्छ । यसैगरी संविधानमा संशोधन गर्नका लागि के के पक्षहरू छन्, त्यसमा व्यापक छलफल हुन जरुरी छ । मैले देख्दाखेरि एकदमै खर्चिलो निर्वाचन प्रणालीमा सुधार गर्नुका साथै, समानुपातिक खारेज नै गर्नुपर्छ । यो भन्दै गर्दा समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रियसभामा वा निश्चित क्षेत्र छुट्ट्याउनु पर्छ । यो संसद् र प्रदेशसभाका संख्याहरू भारतमा १८ देखि २५ लाखको एउटा संसद् हुन्छ भने हामी कमसेकम संघीय संसद् र प्रदेश सांसदमा कम्तीमा ४० प्रतिशत संख्या घटाएर चुस्त बनाउनेतर्फ पनि सोच्न सक्छौं भने गाउँ नगर कार्यपालिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यतातर्फ सोच्ने हुन्छ । त्यसैले तमाम विषयमा व्यापक रूपबाट सबैपक्षसँग छलफल गरेर नै, त्यसैले मैले यसलाई गोलमेच सम्मेलनको संज्ञा दिएको हुँ । गोलमेच सम्मेलन गर्नुपर्ने आवश्यकता पर्यो भने त्यसको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ र जनमतसंग्रहको लागि पनि तयार हुनुपर्छ । यसैगरी पार्टीभित्र सामूहिक नेतृत्वको कुरा गिरिजाबाबु हुँदादेखि नै गर्यौं । न नेतृत्व सामूहिक भयो न सभापतिले सम्पूर्ण जिम्मा लिएर जशअपजश म लिन्छु भन्ने कुरा भो । काम नभएका जति सबै अन्त पन्छाउने, गर्ने जति सभापतिले गर्ने जुन खालको परिवेश छ त्यसलाई चिर्नुपर्छ । त्यसका लागि साधारण सदस्यले नै सभापति चयन गर्ने र सभापतीय पद्धतिमा पार्टी जानु उपयुक्त हुने भएकाले पार्टीको विधान पनि संशोधन गर्नु पर्छ भन्ने मेरो दृष्टिकोण हो ।
प्रतिक्रिया