काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बोलाइएको छ । आज शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ । रास्वपाको विधानमा ज्येष्ठताका आधारमा कार्यबाहक पाउने प्रावधान भए पनि लामिछानेले स्वर्णिम वाग्लेलाई विश्वास नगरेर अर्याललाई कार्यबाहक दिएका हुन् ।
सभापति लामिछानेले गएको आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए। लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अब संसदीय दलको नेता को बन्ने भन्ने विषयमा रास्वपामा विवाद छ । उपसभापति वाग्ले आफू स्वतः संसदीय दलको नेता बन्नुुपर्ने अडानमा छन् । तर, डीपीदेखि सुमनासम्मले सो पदका लागि आकांक्षा राखेका छन् ।
पार्टीको कार्यबाहक सभापति उपाध्यक्ष अर्यालले पाएपछि संसदीय दलमा स्वर्णिमकै बढी सम्भावना देखिन्छ ।
प्रतिक्रिया