देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशी मुद्धाका बिषयमा छलफल गर्न भेला बोलाईएको हो : महेन्द्र यादब

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादबले दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणमा चुनावी रणनीति र मधेशका मागका बिषयमा छलफल गर्न काठमाडौं भेला बोलाईएको बताएका छन ।

देशान्तर रेडियोको दैनिक प्रस्तुती देशान्तर सम्बादमा कुरा गर्दै नेता यादबले दुई नम्बर प्रदेशका ८ जिल्लाहरुको चुनावी अवस्था बुझ्न र रणनीति बनाउने उदेश्य बिहिबार काठमाडौंको बानेश्वर स्थित आनन्द पार्टी ईभेन्टमा भेला बोलाईएको बताए । उनले दोस्रो चरणमा चुनाव भएका मधेशका ११ जिल्लामा समेत एमाले पहिलो भएपछि कांग्रेसले मधेस एजेण्डाबारे जिल्ला सभापति, सांसद, पूर्वसांसद, क्षेत्रिय सभापति लगायतको सुझाव लिन यो भेला बोलाएको जानकारी दिए ।

दुई नम्बर प्रदेशको भेलाले १ सय २७ पालिकामध्ये ७५ भन्दा बढि पालिका जिताउने गरि योजना बनाउनु पर्ने उनको भनाई छ । उनले भने संविधान संशोधनको छिनोफानो गर्न र स्थानीय तहको संख्या बढाएरमात्र चुनावमा जान दवाव दिने योजना जिल्ला नेताहरुको छ । बिना उपलव्धी चुनावमा जाँदा कांग्रेस पराजित हुने एक थरी नेताहरुको विश्लेषण छ भने अर्काथरीको कांग्रेसले अधिकतम प्रयास गरेको तर दुई तिहाई पुग्न नसकेकाले प्रयास जारी रहने सन्देश लिएर चुनावमा जानु पर्ने यादबको विश्लेषण छ ।

टिकट वितरण लगायत जिल्लाको बस्तुगत अवस्थाबारे भेलामा जानकारी लिइने उनले बताए । भेलामा सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाँक कोइराला, पूर्व महामन्त्री विमलेन्द्र निधिलगायतका नेताहरुले जिल्लाको वस्तुगत अवस्था बुझ्ने र निर्णय लिने यादबको भनाई छ ।

यसैबीच नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन ।

आयोगले जिल्ला स्थित निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावली संकलन गर्नका लागि साउन १ देखि १५ गतेसम्मको समय दिएको थियो । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले बताए । काँग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ ।

 

खेतीपातीको यो बेला १५ दिन भित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको काँग्रेस नेता खाँडले बताए । निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्यतालिकानै सार्वजनिक गरेको छ ।

 

मंसीर पहिलो हप्ता भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।