काठमाण्डौ । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी आयोग गठन गर्ने तयारी थालेको हो । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको र भोलीको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने जानकारी दिएका छन ।
नेपालको संविधानको धारा, २८६ मा निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी व्यवस्था छ । सर्वाेच्च अदालतका सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा भूगोलविद्,समाजशास्त्री,प्रशासनविद् र कानूनविद् सदस्य रहने व्यवस्था छ ।
आज भएको सत्तारुढ दलहरु आयोग गठन गर्न सहमत भएको काँग्रेस नेता निधिले बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग आज निर्वाचन क्षेत्र निर्धारण आयोग गठन लगायत विषयमा छलफल भएको जानकारी दिदै भोली निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका हुन ।
आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वका आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।
हाल २४० निर्वाचन क्षेत्र कायम छन् भने ३३५ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित र २६ जना मन्त्रिपरिषद्बाट मनोनीत गरी ६०१ सदस्यीय व्यवस्थापिका–संसद्को व्यवस्था छ ।
प्रतिक्रिया