देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकका खाल्डा पुर्न मन्त्रालय देखि महानगर सम्म सक्रिय

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएपछि सम्बन्धित निकायले धमाधम काम गर्न थालेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्नका लागि संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई जिम्मेवारी सहित निर्देशन दिएको थियो ।
खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायले प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाण्डौ र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेको बताए ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको जानकारी दिए । फरक फरक क्षेत्र बनाएर दिउसो काम गर्न नसकिने ठाउँमा राति काम गर्न निर्देशन दिईएको खत्रीले देशान्तरलाई बताए ।
क्षेत्रीका अनुसार मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने काम सुरु गरेको छ । चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा भने सडक विभागलाई दिइएको छ।
काठमाण्डौ महानगरपालिकाले ८ मिटरभन्दा कम चौडा भित्रि सडकमा रहेका खाल्डा पुर्ने जिम्मा पाएको छ । महानगरपालिकाले पनि सडक पुर्ने काम सुरु गरिसकेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।