काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन् । साथै प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री श्री शेर बहादुर देउवा र प्रमुख निर्वाचन पदाधिकारीबीच सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री जनार्दन शर्मा पनि उपस्थित थिए ।
भेटमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनबारे कुराकानी भएको छ । ‘हामीले क्षेत्र निर्धारण आयोग गठन गर्न ढिला भयो । चाँडो गरिदिनुपर्यो भनेका छौं,’ आयुक्त नरेन्द्र दाहालले देशान्तरलाई बताए । भेटमा प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आयोग पदाधिकारीले आग्रह गरेका छन् ।
आयोगले प्रदेश र संघीय संसदको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने भन्दै निर्वाचनसम्वन्धी ऐन कानुन असार मसान्तभित्र पारित गरिसक्न सरकारलाई आग्रह गरेको थियो । साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आफूले नपाए निर्वाचन गर्न गाह्रो हुने बताएको थियो ।
प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्वन्धी ऐन संसदमा विचाराधीन छ । तर, निर्वाचन क्षेत्र निर्धारण आयोग अझैसम्म गठन हुन सकेको छैन ।
प्रतिक्रिया