देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई नम्बरमा प्रदेशको निर्वाचन तयारीका लागि साउन ५ मा भेला

देशान्तर

काठमाडौं । निर्वाचन अगाडि संविधान संशोधन गर्न नसक्दा प्रदेश नम्बर २ मा सहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ । त्यही विषयमा कांग्रेसले तराईका नेताहरूसँग छलफल गर्दै छ । ‘हामी संशोधन टुंग्याउन चाहन्छौँ, तर एमालेले मानेन । राजपा पनि अगाडि बढाउन चाहन्छ कि चाहन्न भन्ने पनि प्रस्ट छैन । संशोधनमा कसले साथ दिन्छ भन्दा पनि कोसँग जाँदा कांग्रेस कमजोर बन्छ भन्नेमा राजापामा देखिन्छ,’ नेता प्रकाशशरण महतले भने, ‘यी सबै विषयलाई चिर्दै हामी रणनीति बनाउन छलफल गर्न लागेका हौँ ।’

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० तहमा पछि परेको कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो दल बन्ने दाबी गरेको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक सय २७ तहमा तेस्रो चरणमा निर्वाचन हुँदैछ । (कांग्रेसले तराई मधेसमा आफ्नो पकड रहेको बताउँदै आएको छ ।‘‘हामी पहिलो र दोस्रो चरणमा एमालेभन्दा ५० तहले पछि प¥यौँ, तर २ नम्बर प्रदेशमा हुने निर्वाचनमा हामी पहिलो हुन्छौँ,’ कांग्रेस केन्द्रीय सदस्य डा। प्रकाशशरण महतले भने, ‘समयमै उम्मेदवार तय गर्ने, प्रचार अभियानलाई व्यवस्थित गर्ने र संंविधान संशोधनका लागि हामी अन्तिमसम्म पनि प्रयासरत छौँ भन्ने सन्देश दिँदा हामी पहिलो दल बन्छौँ ।’

तेस्रो चरणको निर्वाचन तयारीका लागि कांग्रेसले आगामी ५ साउनमा छलफल गर्दै छ । २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, प्रत्यक्ष निर्वाचनमा हारेका उम्मेदवारसहितको उपस्थितिमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । संविधान संशोधन गर्न पार्टीले प्रयास गरे पनि एमाले तयार नभएको, राजपासमेत कांग्रेसकै प्रतिस्पर्धी दल भएकाले टाढिँदै गएकोबारे छलफल हुने उनले बताए ।

‘अब २ नम्बर प्रदेशमा कांग्रेसको विपक्षमा सबै खनिने अवस्था छ । एमाले, राजपा हामीविरुद्ध लाग्ने देखिन्छ,’ नेता डा. महतले भने, ‘राजपाले कांग्रेसले नै सिट काट्छ भन्ने मान्यताका आधारमा एमालेलाई समर्थन गरेको देखियो, जुन दोस्रो चरणमा पनि देखियो । राजपाले कांग्रेसलाई नै २ नम्बर प्रदेशमा प्रतिस्पर्धी ठानेको छ ।’
दोस्रो चरणको निर्वाचनअघि तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरूले संविधान संशोधनका लागि जोड दिएका थिए । यसपटक तराईबाट प्रतिनधित्व गर्ने कांग्रेस नेताहरू संविधान संशोधन गर्दा मात्र कांग्रेस अझै बलियो हुने पक्षमा छन् । पार्टीले ५ साउनमा गर्न लागेको छलफलमा समेत तराई मधेसका नेताहरूले संशोधनको विषयलाई टुंग्याउन दबाब दिने बुझिएको छ । कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, महेन्द्र यादव, अमरेशकुमार सिंहसहितका अधिकांश नेता संविधान संशोधनको विषय टुंग्याएर निर्वाचन गर्दा कांग्रेस सफल हुने पक्षमा छन् ।

कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर कांग्रेसलाई २ नम्बर प्रदेशमा मात्र नभई समग्र तहमै पहिलो पार्टी बनाउने गरी छलफल गर्न लागेको बताउँछन् । ‘हामी एमालेभन्दा पछाडि परेका छौँ, तर २ नम्बर प्रदेशमा निर्वाचन हुँदा यो अवस्था रहँदैन,’ मन्सुरले भने, ‘कांग्रेसको आधार रहेको तराईमा दुईतिहाइ तह जितेर पहिलो हुने रणनीति बनाएर जान छलफल गर्न लागेका हौँ ।’ नयाँपत्रिकामा समाचार छ ।