काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा चरम विवाद देखिएको छ । गत साउनका सम्पन्न नेपाल विद्यार्थी संघको महाधिवेशनपछि नेपाल विद्यार्थी संघमा विवाद देखिएको हो । संघभित्रको विवादका कारण नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालयको इकाई समितिमा तीनवटा अध्यक्ष भएका छन् । अन्य दुईवटा पक्षले पनि आफू निकटका विद्यार्थीलाई अध्यक्षको जिम्मेवारी दिने तयारी गरेका छन् । अध्यक्ष नैनसिंह महरले स्थानीय तहको निर्वाचनमा टिकट मिलाउनुपर्ने भन्दै खत्रीलाई अध्यक्ष भएको चिठी दिएका हुन् । अध्यक्षले एकजनालाई अध्यक्ष बनाएपछि अन्य दुई समूहले पनि अध्यक्ष बनाएपछि विश्वविद्यालयमा नेपाल विद्यार्थी संघका तीनजना अध्यक्ष भएका हुन् ।
महाधिवेशनताका त्रिभुवन विश्वविद्यालय दुईभन्दा बढी अध्यक्ष थिए । पछि त्रिविका सबै इकाई अध्यक्ष भएको दाबी गर्नेहरू महाधिवेशनमा उम्मेदवार बनेपछि विधानत स्वत: त्रिविको इकाई अध्यक्ष खाली भएको थियो । अध्यक्ष खाली भए पनि महाधिवेशनले भने तीन महिनाभित्र विवादित ११ जिल्ला, क्याम्पस तथा रिक्त क्याम्पसको अधिवेशन गराउने म्यान्डेट दिएको थियो । तर अध्यक्ष महरले महाधिवेशनको म्यान्डेट विपरीत खत्रीलाई अध्यक्षको चिठी दिएपछि समस्या भएको विद्यार्थीले बताएका छन् । अर्कोतर्फ महाधिवेशनपछिको नेपाल विद्यार्थी संघको पहिलो बैठकमा समेत अध्यक्षले जिल्ला अध्यक्ष तथा इकाई अध्यक्ष बनाएको कसैलाई पनि चिठी नदिने प्रतिबद्धता जनाएका थिए ।
तर महाविधेशनको एक वर्ष पुग्न लाग्दा अध्यक्ष नैनसिंह महरले इकाई अध्यक्षमा सम्झना खत्रीलाई जिम्मेवारी दिएपछि असन्तुष्ट दुई समूहले आ–आफ्नो पक्षका त्रिविका नेतालाई अध्यक्ष भएको पत्र दिएका छन् । अध्यक्ष महरले खत्रीलाई अध्यक्ष बनाएपछि उपाध्यक्ष प्रकाश रानाले श्यामचन्द्र अधिकारीलाई अध्यक्ष भएको पत्र थमाएका थिए । रानाले अधिकारीलाई पत्र दिएलगत्तै अर्का उपाध्यक्ष रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदीले आफू निकट विद्यार्थीको भेला गरेर हरि आचार्यलाई अध्यक्ष बनाएको घोषणा गरेका छन् ।
अब अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट उनी पक्षका केही विद्यार्थीले पनि अर्को इकाई अध्यक्ष बनाउने तयारी गरेका छन् भने अधिकारीलाई अध्यक्ष बनाएको असन्तुष्ट पक्षले पनि अर्को इकाई अध्यक्ष बनाउने तयारी गरेको बताइएको छ । कांग्रेसमा रहेका तीनवटा गुटमध्ये नेविसंघ अध्यक्ष महरले सुदूरपश्चिमकी खत्रीलाई इकाई अध्यक्ष भएको पत्र थमाएर दोस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि सुदूरपश्चिम गएका थिए भने दोस्रो चरणको निर्वाचन सकिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने प्रकाश रानाले अधिकारीलाई अध्यक्ष बनाएको घोषणा गरेका हुन् । त्योलगत्तै पूर्वमहामन्त्री कृष्ण सिटौला निकट मानिने दुई उपाध्यक्ष रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदीले आचार्यलाई अध्यक्ष बनाएका हुन् ।
त्रिभुवन विश्वविद्यालय अध्यक्ष बनाइएका तीनैजना विद्यार्थीहरू विश्वविद्यालयका पूर्वविद्यार्थी नेतासमेत हुन् । उनीहरू कसैको पनि अहिले त्रिभुवन विश्वविद्यालयमा भर्ना नभएको विद्यार्थीले बताएका छन् । नेपाल विद्यार्थी संघको महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला निकट विद्यार्थीको एउटा समूह र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थी एउटा समूह बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
अर्कोतर्फ अध्यक्ष महरले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई पूर्णता दिनेतर्फ भने कुनै ध्यान दिन नसकेको विद्यार्थीको गुनासो छ । एक महामन्त्री, एक छात्रासहित दुई उपाध्यक्ष, एक छात्रासहित दुई सहमहामन्त्री, आयोजक जिल्ला र पिछडिएको क्षेत्रबाट एक–एक जना, चार जना छात्रा र चार खुल्लासहित १० जना केन्द्रीय सदस्य मनोनयन गर्नु पर्नेछ । अहिलेसम्म महाधिवेशनमा पराजित एक जना सहमहामन्त्रीमा र तीन जना केन्द्रीय सदस्यभन्दा अरू मनोनयन गर्न सकेका छैनन् ।
प्रतिक्रिया