प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसका लागि मात्रै नभई नेपालमा राजनीति गर्ने जो कसैका लागि पनि आदर्श पुरुष हुन् । संसारमै प्रजातान्त्रिक समाजवादी प्रवर्तकका रूपमा चिनिएका बीपी कोइरालाले नेपालका लागि जुन राजनीतिक तथा आर्थिक व्यवस्थाको परिकल्पना गरे, अहिलेमात्रै नभई आगामी कयौं वर्षका लागि उत्तिकै सान्दर्भिक र आवश्यक रहनेमा कसैको दुई मत छैन ।
विचार, क्रान्ति, आन्दोलन, निर्माण र वितरणलाई एकसाथ राखेर राजनीतिक व्यवस्थाको कल्पना गर्ने र सोहीअनुसार मुलुकलाई अगाडि बढाउन खोज्ने एकमात्र नेता बीपी कोइराला नै हुन् । उनै जननायक बीपी कोइरालालाई शनिबार विभिन्न कार्यक्रम गरी देशभर सम्झना गरिएको छ । तर, उनकै पार्टी नेपाली कांग्रेसले बीपीको दर्शन र सिद्धान्तलाई छोड्दै गइरहेको सर्वत्र गुनासो छ । आम नेपालीजनले त प्रथम जननिर्वाचित बीपीलाई सम्झेकै छ कांग्रेसले चाहिँ सम्झनै पर्ने भएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । राजनीतिक आन्दोलनमा मात्र नभई नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका कोइरालालाई साहित्यिक क्षेत्रले पनि उत्तिकै रूपमा सम्झिने गरेको छ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
संसारकै राजनीतिक अवस्थाको सही विश्लेषण गरेर सोहीअनुसार कदम चाल्न सक्ने नेता बीपी कोइरालाले राणा र राजाहरूको दासत्वबाट आम नागरिकलाई मुक्त गर्न पटकपटक संघर्षको नेतृत्व गरे । स्वदेशमात्रै नभई भारत प्रवासमा रह“दासमेत उनले आन्दोलनकै नेतृत्व गरे । आन्दोलन देशभित्रै बसेर गर्दा मात्रै सफल हुन्छ भन्नेमा विश्वास राख्ने बीपीले त्यसका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी स्वदेश फर्किए । आफूलाई तत्कालीन राजाले मृत्युदण्ड दिन सक्ने बुझ्दाबुझ्दै पनि मेलमिलापको नीति लिई स्वदेश फर्किनु उनको सबैभन्दा ठूलो साहस मानिन्छ ।
आत्मवृत्तान्त र जेल जर्नलजस्ता कृतिमा बीपीले आन्दोलन र आफूले कल्पना गरेको व्यवस्थाका बारेमा विस्तृत रूपमा बताएका छन् । पटकपटक सुन्दरीजल जेलमा थुनिएका बीपीका विचार र सिद्धान्त जेलमा थुनिएनन्, संसारभर फैलियो, अन्ततः मुलुकले का“चुली फे¥यो । २००७ सालदेखि अहिलेसम्म आउँदा क्रमिक रूपमा राजनीतिक व्यवस्था फेरिइरह्यो । उनले स्थापना गरेको कांग्रेस र कांग्रेसजनले मात्रै नभई कम्युनिस्टहरूले पनि बीपीलाई आदर्श मान्ने गरेका छन् । स्पष्ट आर्थिक नीतिसहित राजनीतिक व्यवस्थाको कल्पना गर्ने नेता बीपीबाहेक अन्य कोही देखिएका छैनन् ।
तर, पछिल्लो समय उनले नै स्थापना गरेको दल नेपाली कांग्रेसले नै बीपी कोइरालाको नीति छाड्दै गएको बहकाउमा लाग्दै गएको भन्दै आलोचना हुने गरेको छ । वर्षमा एक दुई पटक स्मरण गर्ने तर, उनले देखाएको बाटोमा नहिँड्ने आरोप कांग्रेसका नेताहरूमाथि लाग्ने गरेको छ । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई सही रूपमा बुझ्न नसकेको विश्लेषण नगरिएको र सरकारमा हु“दासमेत कार्यान्वयन हुन नसकेको आरोप कांग्रेसमाथि नै लाग्दै आएको छ ।
निमुखा नागरिकलाई केन्द्रमा राखेर शासन व्यवस्था सञ्चालन गर्नुपर्ने र सबै नागरिकलाई राजनीतिक र आर्थिक अधिकारबाट सम्पन्न बनाउनुपर्ने बीपीको नीति पूर्णरूपमा कार्यान्वयन आउन सकेको छैन । बीपीले नै भने झैं सुकिला मुकिलाले पार्टी सञ्चालन गर्ने, उनीहरूले सत्तामा हालीमुहाली गर्ने र हुनेखानेलाई नै पक्षपोषण गर्ने काम कांग्रेसकै सरकारबाट हुने गरेको देखिएको छ । त्यसैले बीपीका बारेमा चिन्तन गर्नेहरूले उठाउने मुख्य प्रश्न नै यही बनेको छ । उनीहरूको भनाइ छ, बीपीलाई श्राद्ध गर्ने काम भयो, श्रद्धा व्यक्त गरिएन, उनको सिद्धान्त व्यवहारमा लागू गरिएन ।
बीपी कोइराला राजनीतिक अगुवामात्रै थिएनन्, साहित्य क्षेत्रका नक्षत्र पनि थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ नेपाली साहित्यका सदाबहार कृति बनेका छन् ।
प्रतिक्रिया