‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने नेपाली उखान प्रमुख प्रतिपक्षी एमालेले रास्वपा र राप्रपाको समेत सहयोगमा संसद् अवरुद्ध गरेर प्रमाणित गर्न खोजेका छन् ।
हुन त, एमालेको संस्कार नै संसद् अवरुद्ध गर्ने र सडक पेटीका ‘रेलिङ’ भाँचेर विरोध गर्ने इतिहास साक्षी छ । तर, यसपटक प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा एमालेका उपल्लो तहका नेताहरूलाई अचेट्ने रणनीतिसाथ अनुसन्धान अगाडि बढाइरहेकोले पनि विषयान्तर गर्न यो ‘हतकण्ठा’ अपनाइरहेको राजनीतिक वृत्तमा चर्चा छ ।
तर, देशान्तरलाई उच्च सूत्रवाट प्राप्त जानकारीअनुसार प्रचण्डले भारत भ्रमणमा सबैसँग लुकाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै तिलाञ्जली दिएर सत्ता टिकाउने पाँचबुँदे गोप्य सहमति गरेको बुझिएको छ । उनैले उल्लेख गरेका प्रितम सिंहका नजिकका नातेदार भारतका पूर्वराष्ट्रपति बुटासिंहको दिल्लीस्थित निवासमा सिंह, प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पाँचबुँदे गोप्य सहमति भएको थियो ।
सो सहमतिका बखत शाहका विश्वासपात्र पूर्वपञ्च एवं मन्त्री केशरबहादुर विष्टसमेत साक्षीको रूपमा उपस्थित थिए भन्ने चर्चा छ । सो सहमति वार्ताकारहरूबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोभाल समर्थनपछि भएको बताइन्छ ।
जसअनुसार प्रचण्डले सत्तामा टिकिरहनको लागि २०४७ को संविधान ब्युँत्याउने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नेसहितका पाँचबुँदे गोप्य सहमति भएको बताइन्छ । त्यही शृंखलाअन्तर्गत भावनामा बहेर प्रचण्डले सत्य ओकलेको हुन सक्ने अनुमान धेरैको छ ।
शिख समुदायका नेता प्रितम सिंह जम्मु–कश्मीरमा राज्यमा जन्मिएका हुन् । उनी सन् १९५८ मा जम्मु–कश्मीरबाट ढुवानी व्यवसाय गर्न नेपाल आइपुगेका थिए । तत्कालीन राजा महेन्द्रको पालामा नेपाललाई व्यवसाय गर्ने थलो बनाउने सोच बनाए र केही महिनामै नेपालमा तीनवटा ट्रक लिएर आएका थिए ।
प्रतिक्रिया