देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाने

देशान्तर

काठमाडौँ – अति कम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्ने भएका छन् ।

यही फागुन २१ देखि २५ गतेसम्म हुने सो सम्मेलनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले यो वर्ष अति कम विकसित देशहरू (एलडीसी) को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि, मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत अधिकारी रहनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् । यस्तै, विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।