काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।बिहीबार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे ।
उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गरे ।
उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए। उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए ।
उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे । उनले भने, ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन। अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो। त्यो बदलिन सकिरहेको छैन। अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोशिस गर्नुभयो उहाँले सफल पनि हुनुभयो। माओवादी अहिलेसम्म यता उती नगरेको भए सम्भव थिएन, कहिले अघि बढ्ने कहिले पछि हट्ने गरेर जिम्मेवारी गरिरहेको छ। शान्ति प्रक्रियाको केही काम बाँकी छ, बेपत्ताहरुको समस्या, शान्ति प्रक्रियासम्बन्धी विभिन्न मुद्दा बाँकी छन्, त्यसलाई समाधान नगरेसम्म फेरि बल्झिने खतरा हुन्छ, त्यसैले शान्ति प्रक्रिया र हस्ताक्षर कर्तामध्ये एकजना आफू हुनुहुन्छ, त्यसैले आफैँले सम्बोधन गर्न र पहल गर्न आवश्यक छ भनेर लागिपर्नु भएको छ। त्यसले एउटा सकारात्मक सन्देश गइरहेको छ। पाइलैपिच्छे चुनौती छन् तर जनताले थोरै आशा गरेका छन्।’
उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे ।
प्रतिक्रिया