देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन दल सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खाली

देशान्तर

काठमाडौँ– नेकपा एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएको छ । सोमबार एमाले सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री दाहाल मातहतमा रहने मन्त्रालयको संख्या १६ पुगेको हो ।

सरकार निर्माणदेखि नै प्रधानमन्त्री दाहालसँगै वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय पनि आफूसँग राखेका थिए । गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । त्यसपछि रास्वपाले छाडेको मन्त्रालय पनि प्रधानमन्त्री आफैंमातहत राखेका थिए।

राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर माओवादी केन्द्रसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने सहमति गरेसँगै आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए ।

राप्रपाको भागमा परेको ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि प्रधानमन्त्री दाहालमातहत नै छ । सोमबार एमालेका ८ मन्त्रीले राजीनामा दिँदै सरकारबाट बाहिरिएका छन् ।
दाहाल नेतृत्वको सरकारमा अब उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सर्पाली ठकुरी बाँकी रहेका छन् ।