राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई मत दिने भन्नेमा पाँच दल अनिर्णीत भएका छन् ।
अहिले सम्म अनिर्णीत भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले आन्तरिक छलफलपछि निर्णयमा पुग्ने जनाएका छन् ।
प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपाले उपयुक्त समयमा निर्णय लिने प्रवक्ता मोहन श्रेष्ठले वताउनु भयो । पछिल्लोे परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै प्रवक्ता श्रेष्ठले राष्ट्रपतिको निर्वाचनअगावै उपयुक्त समयमा निर्णय लिने वताउनु भयो ।
प्रतिनिधिसभामा १९ सांसद रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने विषयमा निर्णय गरेको छैन । संसदीय दलको नेतासमेत रहेका पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले पार्टी पर्ख र हेरकै अवस्थामा रहेको बताउनु भयो । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे सोमवार सम्म निर्णय गरिसक्ने उहाँले वताउनु भयो । यसबारे छलफल गर्न रास्वपाले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
त्यस्तै, प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपा पनि परिस्थिति नियालेर निर्णय लिने वताएको छ । प्रतिनिधिसभा सांसद प्रेम सुवालले आफूहरूको एजेन्डा सम्बोधनको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिन सक्ने बताउनु भयो ।
प्रतिक्रिया