काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । मंगलवार बसेको संस्थापनइतर पक्षको बैठकले संसदीय दलको नेतामा गगनलाई अघि बढाउने सहमति गरेको हो ।
संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो । बैठकबाट शेखर गगनलाई संसदीय दलको नेतामा अघि बढाउन सहमत भएको छन् ।
थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको शेखरको सचिवालयले पुष्टि गरेको छ। ’नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ । आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भनेका छन् ।
यसैगरी गगनको सचिवालयले पनि सहमति जुटेको जनाएको छ । ‘शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्नु भएको छ,’ गगनको सचिवालयले जनायो। उपसभापति महामन्त्री विश्वप्रकास शर्मा गगनको समर्थक बन्ने तय भएको छ ।
कांग्रेस संसदीय दलमा संस्थापनबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिँदैछन् ।
प्रतिक्रिया