काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान सुझाव नेताहरुले दिएका छन् । संसदीय दलको नेताको उम्मेदवारमा कोइराला र थापा मध्ये एक जना मात्र अगाडि सर्नुपर्ने नेताहरूको सुझाव छ ।
काठमाडौंमा चलिरहेको शेखर–गगन समूहको बैठकमा नेता बलबहादुर केसीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि बढाउन उपयुक्त हुने राय राखेका छन् । सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यमा पराजित केसीले सभापति शेरबहादुर देउवाविरुद्ध थापालाई अगाडि सार्नु उपयुक्त हुने बताए । तर सांसदहरु भने कसैको पक्षमा नखुलेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
१४ औं महाधिवेशनमा संस्थापन इतर पक्षलाई इन्ट्याक राख्न नसक्दा देउवा पुनः सभापति बन्ने अवस्था आएको नेताहरुले स्मरण गराएका छन् । संस्थापन इतर पक्षलाई बलियो बनाउन कोइराला र थापा मध्ये एक जना मात्र संसदीय दलको नेता लड्नुपर्ने नेताहरुको भनाइ छ ।
नेता अर्जुननरसिंह केसीले पनि महामन्त्री थापालाई संसदीय दलको नेतामा अगाडि सार्दा उपयुक्त हुने धारणा राखेका छन् ।
प्रतिक्रिया