देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस युनियनले २६औँ स्थापना दिवस मनाउँदै

देशान्तर

काठमाडौं । नेपालका प्रजातन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनले यही जेठ १३ गते २६औँ स्थापना दिवस तथा रजत वर्ष समापन समारोह भव्यरुपमा मनाउने भएको छ ।

युनियनले गत वर्ष ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम वर्षभरि मनाएको थियो । प्रेस युनियनको स्थापना विसं २०४८ जेठ १३ गते भएको हो ।

प्रेस युनियन केन्द्रीय सचिवालय बैठकले २६औँ स्थापना दिवस र रजत वर्ष समापन समारोह विशेष कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । स्थापनाकाल देखि नै युनियनले सञ्चारकर्मीका पेसागत तथा भौैतिक सुरक्षाका सवालमा महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै अध्यक्ष सिग्देलले भने, “श्रमजीवी पत्रकार ऐन तथा नियमावलीको पूर्ण कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई दबाब दिई मुलुकको सञ्चार क्षेत्रलाई अझ समृद्ध र सम्मानित बनाउन हामी अनवरतरुपमा कटिबद्ध छौँ ।”

प्रेस युनियनको उत्पत्ति ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाई श्रमजीवी पत्रकारका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

विसं २०४८ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा प्रेस युनियनको जन्म भएको हो । त्यसयता युनियनमा हरि अधिकारी, रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह र किरणकुमार पोखरेल अध्यक्ष भइसकेका छन् ।

युनियनका मुलुकभर मुस्ताङ र हुम्लाबाहेक सम्पूर्ण जिल्लामा जिल्ला शाखा र कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी ७५ शाखा तथा उपशाखा रहेका छन् ।