देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पानी अभावले वागमती प्रदेशमा ४३ प्रतिशतमात्र रोपाइँ

देशान्तर

काठमाडौं – पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् वागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको प्रादेशिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मलकाको अभावले किसान समस्यामा परेका हुन् ।

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ ।प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत तथा चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ ।

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभे्रमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ ।यस प्रदेशमा खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ मा पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६÷७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन तथा २०७५÷७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिकटन धान उत्पादन भएको थियो ।