काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९ र ८० को बजेट प्रस्तुत गरेको छ । महानगरको ११ औं नगर सभामा उप–प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले वडाहरूलाई दोब्बर बजेट दिने, महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण गरी पुरानै स्वरूपमा जस्ताको त्यस्तै राख्ने घोषणा गरिएको छ ।
महानगरले प्रस्तुत गरेको बजेटमा परम्परागत हिटीहरुको संरक्षण, तथा परम्परागत मठ मन्दिरहरु र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ । काठमाडौं महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेका छन् ।
सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास, फोहोरलाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरुमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने आदि विभिन्न कार्यक्रमलाई महानगरले प्राथिमकतामा राखेको छ । सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रालाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रिकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ ।
प्रतिक्रिया