देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकी दाबी, सम्झौता नभएको नेपाली सेनाको स्पष्टोक्ती

देशान्तर

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ ।

दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र अमेरिकाको उटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएको हो ।

अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको दाबी गर्नुभएको हो ।

उनका अनुसार नेपाली सेना र उटाहा नेसनल गार्डबीच साझेदारी कायम भईसकेकाले थप सम्झौताको आवश्यकता पर्दैन् । एसपीपी सैन्य गठबन्धन होइन भन्दै उहाँले नेपालकै अनुरोधलाई अमेरिकाले स्वीकार गरेको र त्यसमा थप सम्झौता गर्नुपर्ने प्रावधान नरहेको दूतावासको भनाइ छ ।

पत्रकार सम्मेलनमा नियोग उपप्रमुख निकलरले एसपीपी मार्फत जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाइने तथा प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागीजस्ता समस्यामा दुई सेनाबीच सहकार्य हुने बताए ।

दूतावासको यस्तो दाबीले भने झन् अन्योलको अवस्था ल्याएको छ ।

यसैबीच, नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ ।

अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको हो ।

सेनाले त्यसखालको सम्झौता भविष्यमा पनि गर्ने कुनै प्रक्रिया नभएको दाबी पनि बताएको छ । सेनाले बुधबार राति एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुमा सेनाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘एसपिपी सम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ सेनाको विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कसैसँग पनि गर्न नहुनेमा सदैव प्रष्ट र सचेत रहेको पनि प्रष्ट पारेको छ ।