काठमाडौं । सत्य, सेवा, सुरक्षाको कसम खाएर नेपाल प्रहरीको जागिर खाएका एक उच्च अधिकारी नै नियम, विधि र कानुनको ठाडो उल्लंघन गर्दै चार दिनदेखि गयल छन् । एक महिना लामो बिदा सकिएपछि थप १० दिन बिदा मागेका ती अधिकारी आफ्नो बिदा अस्वीकृत भएको जानकारी पाउँदा पाउँदै पनि कार्यालयमा हाजिर भएका छैनन् । कानुनी राज्य स्थापनाका लागि खटिनुपर्ने प्रहरी अधिकारीले नै कानुन र विधिको खिल्ली उडाइरहेका छन् । यसरी सिंगो कानुनकै धज्जी उडाउने प्रहरी अधिकारी हुन्– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेल ।
मानव स्रोत संसाधन विभागको प्रमुख रहेका पोखरेललाई अहिले प्रदेश प्रहरी समन्वय विभागको प्रमुखको प्रमखमा सरुवा गरिएको छ । स्थानीय चुनावको अवधिभर घरै बसेर सर्वोच्चको मुख ताकिरहेका पोखरेल बर्खायाम लागिसक्दा समेत सेवामा हाजिर भएका छैनन् । बुधबार उनले प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० दिनको बिदा माग गर्दै निवेदन पठाएका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरे । प्रहरी प्रधान कार्यालयले बिदा अस्वीकृत भएको जानकारी पोखरेललाई दिइसकेको छ । तर पनि उनी कार्यालय गएका छैनन् ।
सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै असहमति जनाउँदै तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीसँग ३० दिनको बिदा स्वीकृत गराएर सर्वोच्च अदालतमा आईजीपी नियुक्तिविरुद्ध मुद्दा दायर गरेका पोखरेलले अदालतबाट मुद्दाको टुंगो लागिनसकेको भन्दै फेरि १० दिन बिदा थप्न निवेदन पठाएका थिए । प्रहरी महानिरीक्षक सिंहले भने बिदा अस्वीकृत गरी अस्वीकृत भएको जानकारी गराउन निर्देशन दिएका थिए । पोखरेलले बिदा अस्वीकृत भएको पत्र पनि बुझेका छैनन् ।
आईजीपीमा सिंहको बढुवाविरुद्धको रिटको अन्तिम सुनुवाइ जेठ ३० गते सर्वोच्चमा हुँदैछ ।
त्यतिञ्जेलसम्म बिदामै बसेर पोखरेलले अदालतको आदेश कुर्ने पक्षमा देखिएका हुन् । आईजीपीले किन पोखरेलको बिदा अस्वीकृत गरे त ? प्रहरी प्रवक्ता विष्णु केसीको जवाफ छ– बर्खायाममा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका पोखरेलको कार्यालयमै उपस्थिति आवश्यक भएकाले बिदा अस्वीकृत भएको हो । ‘झरीको मौसम छ । बाढी–पहिरोलगायत विपद् आउने समय हो । उहाँले अगाडि नै एक महिना बिदा पनि लिइसक्नुभएको हुँदा तत्काल काममा आउनु भनिएको छ,’ प्रवक्ता केसीले भने, ‘प्रदेश समन्वय विभागको प्रमुख भएकाले उहाँलाई बिदा दिन नमिल्ने भएको हो ।’ एआईजी पोखरेलले साउन २० गते अनिवार्य अवकाश पाउनेछन् ।
पोखरेलसँगै असन्तुष्ट भनिएका सहकुल थापा भने नियमित ड्युटीमा छन् । सँगै प्रहरीमा प्रवेश गरेका सिंह, पोखरेल र थापामध्ये एसपी हुँदासम्म सिंह नै पहिलो नम्बरमा थिए । त्यसपछिका बढुवामा पनि उनीहरू सँगसँगै थिए । तर, डीआईजीबाट एआईजीमा भने सिंह र थापालाई उछिनेर पोखरेल बढुवा भएका थिए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र एमालेकै ईश्वर पोखरेल उपप्रधानमन्त्री रहेका बेला नेपाल प्रहरीमा नयाँ एआईजीको दरबन्दी सिर्जना गरी पोखरेललाई बढुवा गरिएको थियो । उनको त्यो बढुवालाई त्यतिबेला नै अस्वाभाविक मानिएको थियो ।
प्रतिक्रिया