काठमाडौं । ओलीको दम्भ, अहंकार र मैमत्त व्यवहारका लागि संघीय र प्रदेश सरकार गुमाएको नेकपा एमालेले यसपालिको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार हुने देखिएपछि ओली र एमालेका केही नेताहरू चुनावी प्रचार कार्यक्रममै विष वमन गर्दै बर्बराउन थालेका छन् भने उनीहरूको बोली र व्यवहारका कारण सम्भावित हारबाट अत्तालिएको पुष्टि भइसकेको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिगामी, पश्चागामी र दक्षिणपन्थी शक्तिसँग चुनावी तालमेल गर्दा पनि लज्जास्पद हार हुनबाट नजोगिने देखिएपछि ओली र उनको पार्टी एमालेका नेताहरू सत्ता गठबन्धन दल र ती दलका उम्मेदवारविरुद्ध कुप्रचार गर्न थालेका छन् ।
पार्टीका विभिन्न तहबाट आएको जानकारीमै १ सय ५० भन्दा बढी पालिकामा जित निकाल्न नसकिने रिपोर्टपछि एमाले अध्यक्ष ओली यतिबेला अत्तालिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई एक्लै क¥याककुरुक बनाउने दाबी गर्दै आएका ओली स्थानीय तहको निर्वाचनमा पत्तासाफ हुने अवस्था आएपछि गठबन्धनका दलहरूविरुद्ध विष बमन गर्ने मात्र होइन असारपछि गठबन्धन नै भत्कने भ्रम छर्न लागिपरेका छन् । अहिलेको गठबन्धन कायमै हुँदा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम पनि फरक नआउने बुझेका ओलीले स्थानीय तहको निर्वाचनमै मत प्रभावित गर्न असार १७ गते अहिलेको गठबन्धन टुट्नेजस्ता अफवाह फिजाउँदै हिँंडेका छन् ।
जनतामाझ राजनीतिक, विचार र कार्यक्रम लैजाने केही विषय बाँकी नभएपछि ओली कांग्रेस नेतृत्वमा रहेको अहिलेको पाँचदलीय गठबन्धन भत्के हुन्थ्यो भन्ने मनको चाहनालाई ज्योतिष विद्याको हवला दिंदै व्याख्या गर्न थालेका छन् । आफूलाई क्विन्टलको कुरा गर्दै हिँडेका ओली अहिले एक एक ग्राम खोज्दै एक किलो पु¥याउनका लागि कोसिस गर्दै आएका छन् । कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरे पनि काठमाडौंसहित महानगरको नेतृत्व एमालेको हात नपर्ने निश्चित जस्तै देखिएको विश्लेषण गरिएको छ । ‘उहाँ पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको गरेको भन्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्ने अवस्था ओलीको आएको बताए । जसको परिणाम ओली शनिबार काठमाडौं महानगरपालिकाको परिणाम पार्टीको पक्षमा पार्न सकिन्छ कि भनेर उम्मेदवारसँगै घरदैलोमै हिँडेका छन् ।
पार्टीको अध्यक्ष मात्र होइन पूर्वप्रधानमन्त्री ओली एउटा पालिकाको प्रमुख जिताउन घरदैलो गर्नुपर्ने अवस्थाले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको परिणाम कस्तो आउँला भन्ने आकलन गर्न सकिन्छ । मुलुकलाई प्रतिगमनमा लैजान दुई पटकसम्म संसद् विघटन गरेका ओली र उनको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने ओलीले माओवादी केन्द्र र एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई मात्र होइन कांग्रेसविरुद्ध जहाँ पुग्यो त्यही खनिएका छन् । राजनीतिक तर्क होइन विक्षिप्त ढंंगबाट प्रस्तुत भएका ओलीले पार्टीका कतिपय नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनपछि माधवकुमार नेपाल नेतृत्व एकीकृत समाजवादी पार्टी सर्वोच्च अदालतबाट खारेज गरिदिने भन्दै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको गठबन्धन औचित्य समाप्त हुने दाबी गर्दै आएका छन् ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आफ्नो पक्षमा आउने र त्यसपछि सरकारको नेतृत्व फेरि आफंैले गर्ने दाबी गर्दै आएको स्रोतले जनाएको छ । नेपाल नेतृत्वको पार्टी खारेजीसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भन्दै ओलीले समाजवादीमा जान लागेका कतिपय पार्टीका नेताहरूलाई थामथुम बनाउँदै आएका छन् । कतिपय शक्ति राष्ट्रहरू पनि अहिलेको गठबन्धनको पक्षमा नरहेको भन्दै निर्वाचनबाट अत्तालिएका ओलीले अहिलेको गठबन्धन भत्काएरै छाड्ने दाबी गर्दै आएका छन् ।
निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी गराउन शीर्ष नेताहरू एकजुट भएर चुनावी सभामा सक्रिय भएपछि गठबन्धनभित्र खेलेर आफ्नो पक्षमा केही परिणाम निकाल्ने ओली दाउ पनि सफल हुने देखिंँदैन । पाँचदलीय गठबन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको दाबी गर्दै आएका ओलीकै व्यवहारको त्यो खण्डित भइसकेको छ भने स्थानीय तहको निर्वाचन परिणामले ओली र उनले नेतृत्व गरेको एमाले छटाकमा परिणत हुने आकलन गर्न थालिएको छ । देशान्तर साप्ताहिकबाट ।
प्रतिक्रिया