देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनका कारण जित निश्चित, देशभर उत्साह


काठमाडौं ।
पाँच दिनपछि सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण धेरै नगर र गाउ“हरूमा गठबन्धनका उम्मेदवारहरू विजयी हुने निश्चित भएपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका नेता तथा कार्यकर्ता मुलुकभर उत्साहित भएको हाम्रा समाचारदाताहरूले जानकारी पठाएका छन् । यसपटकको स्थानीय चुनावमा प्रतिपक्षी एमाले बलियो भएर होइन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संविधानको संरक्षणका लागि गठबन्धन गरिएको शीर्षस्थ नेताहरू र गठबन्धनकारी दलका कार्यकर्ताले मतदाताको घरदैलोमा गई बुझाउन खोजेका कारण पनि ती दलका उम्मेदवारहरूको पक्षमा देशभर माहोल बनेको बुझिएको छ साथै गठबन्धन दलका शीर्ष नेताहरूले ७ वटै प्रदेशमा संयुक्त रूपमा गरिरहेको आमसभाहरूमा पनि गठबन्धनको औचित्य पुष्टि गरेका कारण नै जित निश्चित भएको देखिन्छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि देखिएको माहोलबाट देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांश तहमा सत्ता गठबन्धन र गठबन्धनमा आबद्ध दलको जित सुनिश्चित भइरहँदा मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस बहुमत पालिकामा जितसँगै स्थानीय तहमा पहिलो पार्टी बन्ने भएपछि देशभरका कांग्रेस कार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेको हार स्थानीय तहको निर्वाचनबाट सुरु हुने स्पष्ट भइसकेको राजनीतिक क्षेत्रका जानकारहरूको आकलन रहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा गरेका अलोकतान्त्रिक गतिविधि, उनको अहंकार र दम्भ तथा पटकपटक असंवैधानिक रूपमा गरिएको संसद् विघटन तथा उनकै कारण बढेको राजनीतिक अस्थिरताको परिणाम ओली र उनको दल एमालेले यसपालिको स्थानीय तह निर्वाचनबाट पाउने छन् । स्थानीय तह निर्वाचनको केही महिनापछि हुने प्रदेश सभा र संघीय संसद्को निर्वाचनबाट उनले अर्को झट्का भेट्ने पनि पक्कापक्की जस्तै छ ।

राजनीतिक स्थायित्व, संविधानको कार्यान्वयन, सबल संघीयतालगायतका मुद्दासहित बनेको पाँचदलीय गठबन्धनले अधिकांंश पालिकामा तालमेल गरेपछि गठबन्धन विजयोन्मुख देखिएको छ । गठबन्धनमा भएको भागबन्डाअनुसार नै उम्मेदवारी दर्ता र त्यसपछि जारी चुनावी अभियान तथा संयुक्त सभाबाट पनि गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भएको देखिएको छ । गठबन्धन र सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भागमा परेका ६ मध्ये ३ महानगरमा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकामा सिर्जना सिंह, ललितपुर महानगरमा चिरिबाबु महर्जन र विराटनगर महानगरमा नागेश कोइराला नेतृत्वको टिम निर्वाचित हुने बलियो आधार देखिएको देशान्तरका संवाददाताहरूले बताएका छन् । त्यस्तै, माओवादी केन्द्रको भागमा परेको चितवनको भरतपुर, एकीकृत समाजवादीको भागमा परेको कास्कीको पोखरा र जनता समाजवादी पार्टीको भागमा परेको पर्साको वीरगञ्ज महानगरपालिकामा पनि कांग्रेसकै साथ, समर्थन र सहयोगमा गठबन्धनका साझा उम्मेदवार जित नजिक देखिएका छन् । सुरुका दिनमा कांग्रेसमा देखिएको मतभेद र गठबन्धनप्रतिको असन्तुष्टि पनि मत्थर भएपछि चुनावी अभियानमा उत्साह बढेको छ ।
केन्द्रबाट भएको तालमेलको निर्णयअनुसार नै ११ उपमहानगरमा साझा उम्मेदवारी मनोनयन भएको र ती उपमहानगरमा पनि गठबन्धनकै उम्मेदवारको समर्थनमा माहोल बढिरहेको छ । अघिल्ला चुनावमा एमालेका गढ भनेर चिनिएका केही पालिकाहरूबाटै एमाले बढारिने करिब करिब निश्चित भइसकेको छ ।

प्रदेश नम्बर १ को इटहरी, बागमती प्रदेशको हेटौंडा र गण्डकी प्रदेशको पोखरामा एमालेले अमिलो झट्का भेट्ने देखिएको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय पालिकामा नराम्ररी पराजित हुने सम्भावना बढेको छ । गठबन्धनको बल र एमालेभित्रको असन्तुष्टिको परिणाम एक साथ यस पटकको निर्वाचनमा देखिने जानकारहरू बताउँछन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बने पनि गण्डकी प्रदेशमा उसको तुलनामा नेपाली कांग्रेस अगाडि थियो । यस पटकको निर्वाचनमा कांग्रेसप्रति बढेको आकर्षण र गठबन्धनमा भएको तालमेलले कांग्रेसको शक्ति झन् बढेको छ भने एमाले थप खस्किएको छ । पोखरा महानगरमा उम्मेदवार चयन गर्न नै धौ धौ परेको एमालेलाई यसपटक गठबन्धनको बलमा पूर्वएमाले तथा वर्तमान एकीकृत समाजवादीका धनराज आचार्य र कांग्रेसकी कोपिला रानाभाटको टिमले पत्तासाफ बनाउने देखिएको छ । यस्तै अवस्था अन्य जिल्लाका पालिकाहरूमा पनि देखिएको एमालेकै नेताहरूको विश्लेषण छ ।

गठबन्धनको बलका अलावा ओलीको दम्भ र अहंकारबाट आजित भएका एमालेकै कतिपय स्थानीय नेता तथा कार्यकर्ता ओलीलाई यसपटक सबक सिकाउने अभियानमा लागेका छन् । ओलीकै कारण नेकपा खारेज भएको, एमाले विभाजित भएको तथा एमालेमा मिसिएका पूर्वमाओवादीलाई काखी च्याँपेर लामो समय एमालेमा योगदान गरेका नेताहरूलाई उपेक्षा गरेको भन्दै एमालेकै कतिपय केन्द्रीय नेताहरू पनि असन्तुष्ट छन् । मधेस प्रदेशमा प्रभु साहलाई र सुदूपश्चिममा लेखराज भट्टलाई ओलीले अस्वाभाविक स्थान दिएको असन्तुष्टिको नतिजा पनि यही निर्वाचनमा देखिने बताइन्छ ।
अघिल्लो चुनावमा एमाले पहिलो पार्टी बने पनि दोस्रो बनेको कांग्रेससँगको मतान्तर खासै बढी थिएन । आफ्नै सरकार जोगाउन नसकेको एमालेसँग भिड्न कांग्रेस एक्लै पर्याप्त रहे पनि पाँचदलीय गठबन्धनका कारण एमालेलाई पराजित गर्न थप सहज भएको छ ।

नेपाली कांग्रेसकै अगुवाइमा अहिले सातै प्रदेशमा संयुक्त सभा भइरहेको छ । यसबीचमा विराटनगर, चितवन, काठमाडौंंसहित विभिन्न जिल्लामा सभा भइसकेका छन् भने मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिनसम्म आमसभाको तालिका छ । जहाँजहाँ आमसभा भएका छन्, ती ठाउँमा जनताको उपस्थिति उल्लेख्य देखिएको छ । स्थानीयदेखि राष्ट्रिय मुद्दालाई गठबन्धनले एकसाथ उठाएपछि आकर्षण बढेको छ भने यो आकर्षण तीनै तहका निर्वाचनसम्म कायम रहने देखिएको छ । गठबन्धनको विजयी यात्रा स्थानीय तहको चुनावबाट सुरु हुने स्पष्ट भएको छ । देशान्तर साप्ताहिकबाट ।