काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।
आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।
७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।
मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०,५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।
उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया