काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धनले महानगर–उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवारी बाँडफाँट टुंगो लगाउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्मै तालमेललाई निरन्तरता दिने बलियो आधार बनाएको छ ।
कांग्रेस नेता–कार्यकर्ताको व्यापक असन्तुष्टिबीच पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो ‘राम्रो जनाधार’ रहेको क्षेत्रसमेत अन्य दललाई दिन तयार हुँदा महानगर–उपमहानगरमा सहमति जुटेको हो ।निष्कर्षमा पुग्न भने गठबन्धनले निरन्तर चार दिन कसरत गर्नुपरेको थियो ।
गठबन्धनको सहमतिअनुसार आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये तीन र ११ उपमहानगरपालिकामध्ये सात वटामा कांग्रेसले प्रमुखमा उम्मेदवारी दिनेछ, जसलाई गठबन्धनका अन्य दलले सघाउनेछन् । कांग्रेसको महानगरमा ५० र उपमहानगरमा ६३ प्रतिशत हिस्सा परेको हो । बाँकी महानगरमध्ये माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक वटामा प्रमुखका लागि उम्मेदवार उठाउनेछन् ।
उपमहानगरमा माओवादीले १८ प्रतिशत तथा एकीकृत समाजवादी र जसपाले ९–९ प्रतिशत हिस्सा पाएका छन् । माओवादीले दुई, एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरपालिकामा नेतृत्व लिने भएका हुन् ।
महानगरतर्फ काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुखमा उम्मेदवारी दिनेछ । काठमाडौं उपप्रमुखमा एकीकृत समाजवादी, ललितपुर उपप्रमुखमा माओवादी केन्द्र र विराटनगर उपप्रमुखमा जसपाका उम्मेदवार हुनेछन् । भरतपुर प्रमुख माओवादी, पोखरा प्रमुख एकीकृत समाजवादी र वीरगन्ज प्रमुख जसपाको भागमा परेको छ । यी तीनै महानगरमा उपप्रमुख उम्मेदवार कांग्र्रेसका हुने गठबन्धनको निर्णय छ ।
कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा नेतृत्व लिने भएको छ । यीमध्ये कलैया र धनगढी कांग्रेसले गत चुनावमा जितेको थियो । धरान प्रमुखमा उपनिर्वाचनमा जितेको हो । बाँकी चारमध्ये नेपालगन्जमा राप्रपा र अन्यमा एमालेले जितेका थिए । अघिल्लो चुनावमा एक उपमहानगर पनि नजितेको माओवादीले यस पटक जितपुर–सिमरा र घोराही नगरपालिकामा नेतृत्व पाएको छ ।
एमालेको बलियो जनाधार रहेको हेटौंडामा एकीकृत समाजवादी तथा कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कडा टक्कर रहेको जनकपुरमा जसपाले प्रमुख उठाउने भएका छन् । दुवै उपमहानगरमा कांग्रेसका उपप्रमुख उम्मेदवार हुनेछन् । कांग्रेसले घोराहीमा पनि उपप्रमुख उठाउनेछ । माओवादीले धरान र धनगढी, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुलसीपुर, जसपाले कलैया र नेपालगन्ज उपमहानगरमा उपप्रमुख पाउने भएका छन् ।
टुटफुटबाट गुज्रिएको छोटो समयमै स्थानीय चुनावमा जानुपरेकाले माओवादी, एकीकृत समाजवादी र जसपालाई गठबन्धन गर्नुपर्ने बाध्यता बनेको थियो ।
प्रतिक्रिया